बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षमै पर्यटन क्षेत्रमा ३ अर्ब ३१ करोड रुपैयाँ लगानी गर्ने भएको छ।
प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव दिपेन्द्र सुवेदीले ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) को ४७औँ साधारण सभामा यसबारे जानकारी दिँदै पर्यटन प्रवद्र्धन र पूर्वाधार निर्माणलाई सरकारको शीर्ष प्राथमिकतामा राखिएको स्पष्ट पारे।
उनका अनुसार, हालसम्म संघीय, प्रदेश र स्थानीय सरकारबीचको समन्वय अभावले पर्यटन क्षेत्रमा अपेक्षित उपलब्धि हासिल हुन सकेको छैन। यसलाई समाधान गर्न मन्त्रालयले आगामी वर्षदेखि नयाँ पर्यटन नीति निर्माण गरी कार्यान्वयनलाई बलियो बनाउने र तीनै तहबीच सहकार्यलाई प्रभावकारी बनाउने तयारी गरेको छ।
सुवेदीले साहसिक पर्यटनलाई प्रदेशको प्रमुख ब्रान्डका रूपमा अघि बढाइने बताए। उनले गत वर्ष सुरु गरिएको लाङटाङ म्याराथनलाई निरन्तरता दिँदै यसलाई प्रदेशस्तरमै ब्रान्डेड कार्यक्रम बनाउने योजना रहेको उल्लेख गरे। साथै, यस वर्षदेखि “साहसिक पर्यटन दिवस” मनाउने तयारी पनि भएको जानकारी दिए।
पर्यटन पूर्वाधार विस्तारका क्रममा यसै वर्ष ६ हजार मिटर उचाइका विभिन्न हिमशिखरहरूको पहिचान र नयाँ आरोहण मार्ग अन्वेषण भइरहेको छ। यसले नयाँ गन्तव्य खोज्ने पर्यटकलाई आकर्षित गर्ने विश्वास लिइएको छ। यस्तै, सिन्धुपाल्चोकको बलेफीमा एशियामै पहिलो पटक “¥याफ्टिङ स्कुल” स्थापनाका लागि पूर्वाधार निर्माण भइरहेको सचिव सुवेदीले बताए। मन्त्रालयले यसलाई नेपाललाई साहसिक जलक्रीडाको केन्द्रका रूपमा परिचित गराउने अवसरका रूपमा लिएको छ।
उनका अनुसार, नेपालको पर्यटन क्षेत्रमा निजी क्षेत्रको ठूलो योगदान रहेको छ। त्यसैले प्रदेश सरकारले निजी क्षेत्रसँग सहकार्य र साझेदारीलाई प्राथमिकतामा राख्दै अघि बढ्ने योजनामा छ।
यो घोषणाले पर्यटन व्यवसायी र लगानीकर्तामा नयाँ उत्साह जगाएको छ। भौतिक पूर्वाधार निर्माणदेखि साहसिक पर्यटन प्रवद्र्धनसम्मका योजनाले बागमती प्रदेशलाई राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय स्तरमै आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।







