मकवानपुरको विकट मानिने कैलाश गाउँपालिका–४ धुस्राङ निवासी ५० वर्षीय लालकुमार प्रजा चेपाङ अब सुरक्षित घरमा बस्ने भएका छन्। जीर्ण र असुरक्षित आवासमा बस्दै आएका उनलाई बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले घर निर्माणका लागि दुई लाख रुपैयाँ सहयोग गरेका हुन्।
सन्तानविहीन लालकुमार श्रीमती सानुमाया चेपाङसँगै कृषि र पशुपालन गर्दै जीवन निर्वाह गर्दै आएका छन्। तर जीर्ण घर बनाउन नसक्दा उनीहरू वर्षौंदेखि खरको छानो र काठपातको भरमा जोखिमपूर्ण अवस्थामै बस्दै आएका थिए। सानुमायाको सानै उमेरमा हात जलेर अल्प अपाङ्गता भएको कारणले पनि उनीहरूको जीवन कठिन बनेको थियो।
कैलाश गाउँपालिकाले लालकुमारलाई सीमान्तकृत र अति विपन्न समुदायबाट छनोट गरी सुरक्षित आवास निर्माणका लागि सिफारिस गरेको थियो। सिफारिसपत्र बुझ्दै मुख्यमन्त्री बानियाँले पहिलो किस्ताका रूपमा दुई लाख रुपैयाँ प्रदान गर्दै आफ्नो निर्वाचन क्षेत्रमा कुनै पनि नागरिक गास, बास र कपडाबाट वञ्चित नहोस् भन्ने उद्देश्य राखेको बताए।
पत्र पेश कार्यक्रममा कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान, विभिन्न वडाध्यक्ष र नेपाली कांग्रेसका स्थानीय तहका सभापतिहरूको उपस्थिति थियो।
यसअघि मुख्यमन्त्री बानियाँले मनहरी गाउँपालिका–९ निवासी मिठुमाया सुनार र राक्सिराङ गाउँपालिका–१ का सुमनसिं प्रजाको घर निर्माणका लागि पनि सहयोग गरिसकेका छन्।