हेटौँडा/बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटाले स्मार्ट वर्क, टिमवर्क र नवीन सोचमार्फत मात्र प्रदेशले अपेक्षित समृद्धि हासिल गर्न सक्ने बताउनुभएको छ।
मन्त्रालयद्वारा आयोजित आर्थिक वर्ष २०८१/८२ को वार्षिक समीक्षा तथा आगामी वर्ष २०८२/८३ का लागि कार्ययोजना तर्जुमा गोष्ठीको उद्घाटन गर्दै मन्त्री देवकोटाले परम्परागत प्रक्रियामुखी कार्यशैलीले जनताले प्रत्यक्ष अनुभूत गर्ने परिणाम दिन नसक्ने स्पष्ट पार्नुभयो। उहाँले कर्मचारीतन्त्रको सोच र कार्यशैलीमा आमूल परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै “केवल फाइल सदर गरेर वा औपचारिकता पूरा गरेर जिम्मेवारी सम्पन्न हुँदैन, हरेक काम नतिजामुखी हुनुपर्छ,” भन्नुभयो।
उहाँले ठूलो लक्ष्य प्राप्तिका लागि मन्त्रालयका महाशाखा, विभाग र कर्मचारीबीच बलियो समन्वय आवश्यक रहेको बताउँदै टिमवर्कलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभयो। नवीन सोच र गतिशील कार्ययोजना बिना विकास सम्भव नभएको भन्दै उहाँले विश्वव्यापी रूपमा विकास भइरहेका प्रविधि र अवधारणालाई प्रदेशको योजनामा समावेश गर्नुपर्नेमा जोड दिनुभयो। साथै योजनाहरूलाई प्राथमिकताका आधारमा वर्गीकरण गरी स्रोत र साधनको अधिकतम उपयोग गर्न निर्देशन दिनुभयो।
गोष्ठीमा विगतका कामको समीक्षा गर्दै मन्त्री देवकोटाले आगामी वर्षका योजना स्पष्ट, रणनीतिक र कार्यान्वयनमुखी बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले छलफलबाट आउने निष्कर्षले प्रदेशको पूर्वाधार विकासमा नयाँ मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गर्नुभयो।
मन्त्रालयका सचिव इश्वरी चन्द्र मरठ्ठाको अध्यक्षतामा दुई दिने (भदौ १७ र १८) गोष्ठी भएको हो। कार्यक्रममा वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन विज्ञ डा. माघव कार्की, शहरी योजना तथा वस्ती विकास विज्ञ डा. संगिता सिंहले सहजीकरण गर्नुभएको थियो। यस्तै, यातायात पूर्वाधार निर्देशनालयका निर्देशक नविन कुमार सिंह, प्रदेशका ११ वटै जिल्लाका भौतिक पूर्वाधार विकास कार्यालय र शहरी विकास तथा भवन कार्यालयका प्रमुखसहित मन्त्रालयका महाशाखा प्रमुख तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।