हेटौंडा/बागमती प्रदेशका वन तथा वातावरण मन्त्री भरतबहादुर केसीले वन क्षेत्रलाई उद्योग, उत्पादन र रोजगारीसँग जोड्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ ।
बुधबार मकवानपुरको बागमती गाउँपालिका–१ राईगाउँ र वडा नम्बर ८ फापरबारीमा निर्माण भएका दुईवटा सब–डिभिजन वन कार्यालय भवनको उद्घाटन गर्दै मन्त्री केसीले वन क्षेत्रको सही उपयोगमार्फत आर्थिक उपार्जन गर्नुपर्ने बताउनुभयो ।
“पहिले हरियो वन नेपालको धन मात्र भनिन्थ्यो, सामुदायिक वनमार्फत हामीले डाँडाकाँडा हरियाली बनायौं, अब त्यसको उपयोग गर्ने समय आएको छ,” उहाँले भन्नुभयो, “सामुदायिक वनलाई उद्योगसँग जोडेर रोजगारी सिर्जना गर्न आवश्यक छ ।”
मन्त्री केसीले सम्भावना भएका सामुदायिक वनहरूमा उद्योग स्थापना गरी वनसम्बन्धी उत्पादन प्रवर्द्धन गर्ने र स्थानीय नागरिकलाई प्रत्यक्ष रोजगारी र आम्दानीसँग जोड्नुपर्नेमा जोड दिनुभयो । उहाँले समृद्ध नेपाल निर्माण गर्न नागरिकको आर्थिक सबलीकरण अपरिहार्य भएको भन्दै वन क्षेत्रलाई व्यवस्थित गरेर जनताको जीवनस्तर उकास्न सकिने धारणा राख्नुभयो ।
सोही क्रममा उहाँले सेवाग्राहीलाई छिटो, छरितो र मुस्कानसहित सेवा प्रदान गर्न कर्मचारीलाई आग्रह गर्नुभयो । साथै, संघ, प्रदेश र स्थानीय तहबीचको सहकार्यले मात्र वन व्यवस्थापन प्रभावकारी हुने उल्लेख गर्नुभयो ।
बागमती प्रदेशका वन तथा वातावरण मन्त्रालयका सचिव केदार बरालले हालसम्म प्रदेशभर ३८ वटा भवन निर्माण सम्पन्न भइसकेको जानकारी दिनुभयो । अन्य प्रदेशको तुलनामा बागमती प्रदेश वन क्षेत्रमा अग्रणी रहेको उल्लेख गर्दै सचिव बरालले अब पूर्वाधारसँगै गुणस्तरीय सेवा र सुविधा सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रदेशसभा सदस्य प्रेम बहादुर पुलामीले वन संरक्षणसँगै यसको उपयोगितामा ध्यान दिनुपर्ने बताउनुभयो भने बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले सामुदायिक वनमा संकलित रकम पारदर्शी ढंगले खर्च गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
डिभिजन वन कार्यालय हेटौंडाका प्रमुख राकेश प्रसाद चन्द्रवशीको अध्यक्षतामा भएको कार्यक्रममा वन निर्देशनालयका निर्देशक विद्यानन्द झालगायत सरोकारवालाको उपस्थिति थियो । अध्यक्ष चन्द्रवशीले सब–डिभिजन वन कार्यालयले आगामी दिनमा गुणस्तरीय सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
भवन निर्माण लागत
डिभिजन वन कार्यालय हेटौंडाले ठेक्का प्रक्रिया मार्फत निर्माण गराएका दुवै भवनमा करिब पौने पाँच करोड रुपैयाँ खर्च भएको छ ।
राईगाउँ सब–डिभिजन वन कार्यालय निर्माणका लागि २ करोड ९६ लाख ३७ हजार ३५० रुपैयाँमा ठेक्का आह्वान गरिएकोमा २ करोड ४९ लाख ४४ हजार १८८ रुपैयाँमा सम्झौता भई निर्माण सम्पन्न भएको हो ।
त्यस्तै, फापरबारी सब–डिभिजन वन कार्यालय निर्माणका लागि २ करोड ९६ लाख ५६ हजार ९३८ रुपैयाँमा ठेक्का आह्वान गरिएकोमा २ करोड २४ लाख २६ हजार ९११ रुपैयाँमा सम्झौता भई निर्माण सम्पन्न भएको हो ।
दुवै भवन सुशन निहारिका जेभी र सुशन कन्स्ट्रक्सनले निर्माण गरेका हुन् ।







