हेटौंडा/बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रीहरूसँग कार्यसम्पादन करार सम्झौता गरेका छन्। उनले प्रदेशका १३ मन्त्रीहरूसँग नतिजा–सूचकमा आधारित कार्यसम्पादन सम्झौता गरेका हुन्।
प्रदेश सुशासन ऐन, २०७७ को दफा १९ तथा प्रदेश नियमावली, २०७७ को नियम ९ अनुसार गरिएको सो सम्झौतामा चालु आर्थिक वर्ष २०८२/८३ मा मन्त्रीहरूले सम्पादन गर्ने कार्य तथा जिम्मेवारी तोकिएको छ। सम्झौतामा अनुगमन तथा निरीक्षण, कार्यक्रम कार्यान्वयन, वित्तीय खर्च, गुनासो फर्स्योट, तथ्याङ्क संकलन, नागरिक गुनासो सुनुवाइ, मन्त्रालय र मातहत निकायका लागि आवश्यक नीति निर्माणलगायत सूचक निर्धारण गरिएको छ। यस्ता सूचकका आधारमा मन्त्रीहरूको कार्यसम्पादन मूल्यांकन प्रत्येक तीन महिनामा गर्ने व्यवस्था गरिएको छ।
सम्झौता पश्चात कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुदन पौडेलले कार्यसम्पादन सम्झौता संघीयता सुदृढ गर्ने आधार भएको उल्लेख गर्दै संघीयतामाथि आएका नकारात्मक टिप्पणीलाई भाषणले नभई कामले जवाफ दिने बताए। उनले सम्झौतामा तोकिएका कार्यसँगै जनअपेक्षाअनुसारका अतिरिक्त काम पनि गर्ने प्रतिबद्धता व्यक्त गरे।
त्यसैगरी मुख्यमन्त्री बानियाँले लोकतन्त्रमा मात्रै राम्रो काम गर्ने नेताले जनताबाट निरन्तरता पाउने उल्लेख गर्दै सुशासन, पारदर्शिता र जवाफदेहीतापूर्वक काम गर्न मन्त्रीहरूलाई निर्देशन दिए। उनले विगतका सरकारका राम्रा कामलाई निरन्तरता दिने र बाँकी रहेका कामलाई कानुन बनाएर छिट्टै सम्पन्न गर्नेमा जोड दिए।







