बागमती प्रदेश सरकारले भक्तपुरको प्रसिद्ध जिब्रो छेड्ने जात्रामा सहभागी हुने व्यक्तिलाई २ लाख रुपैयाँ दिने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले साहसिक तथा संस्कृति संरक्षण प्रवर्द्धन कार्यक्रम अन्तर्गत प्रोत्साहन स्वरूप निर्णय गरेको सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले जानकारी दिए। 
बैठकले दुई वटा विधेयक स्वीकृत गरी प्रदेशसभामा पठाएको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयको सिफारिसमा प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक र खानेपानी, उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सिफारिसमा प्रदेश खानेपानी तथा सरसफाइ स्वच्छता सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक स्वीकृत भएको मन्त्री तामाङले जानकारी दिए।
त्यस्तै, मन्त्रिपरिषद् मातहत तीन वटा समिति गठन गरिएको छ। कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसुदन पौडेलको संयोजकत्वमा राजनीतिक समिति, आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज अधिकारीको संयोजकत्वमा प्रशासन तथा विधेयक समिति र सामाजिक विकासमन्त्री कञ्चनचन्द्र वादेको संयोजकत्वमा आर्थिक तथा पूर्वाधार समिति रहनेछन्।
बैठकले प्रदेशको प्रशासनिक संरचना निर्माणस्थलमा रुख कटानका लागि करिब ४ करोड रुपैयाँको स्रोत सुनिश्चित गर्ने निर्णयसमेत गरेको छ। यसका लागि वन विकास कोषको रकम प्रयोग गर्न स्वीकृति दिइएको मन्त्री तामाङले बताए।

सहकारी तथा गरिबी निवारण मन्त्रालयमा खुबीराम अधिकारीलाई सचिव पदमा पदस्थापन गर्ने निर्णय पनि भएको छ। अघिल्लो बैठकले सहकारी मन्त्रालयका तत्कालीन सचिव पूर्णबहादुर दर्जीलाई सामाजिक विकास मन्त्रालयमा पठाएपछि मन्त्रालयमा सचिव रिक्त थियो।
यस्तै, बैठकमा १० लाखभन्दा माथिका योजनाहरू टेन्डर प्रक्रिया मार्फत अघि बढाउने व्यवस्था गर्ने निर्णय पनि गरिएको छ।







