मकवानपुरको बकैया गाउँपालिका–५ गरगरेस्थित लिलाराम जिम्बाको किराना पसलमा शुक्रबार बिहान आगलागी हुँदा करिब २ करोड रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।
असोज २० गते बिहान ७:४५ बजेतिर भएको आगलागी नियन्त्रणका लागि इलाका प्रहरी पोष्ट गरगरेबाट प्रहरी निरीक्षकको कमाण्डमा पाँच जनाको टोली खटिएको थियो। स्थानीयको सहयोगमा हेटौंडा उपमहानगरपालिकाको दमकल प्रयोग गरी आगो निभाउने प्रयास गरिएको प्रहरीले जनाएको छ।
आगलागी नियन्त्रणको क्रममा पसल सञ्चालक ४५ वर्षीय लिलाराम जिम्बा दुबै हात र खुट्टा पोलिएर घाइते भएका छन्। उनलाई उपचारका लागि प्रारम्भमा हेटौंडा अस्पताल पठाइए पनि शरीरको करिब ४० प्रतिशत भाग जलेको कारण थप उपचारका लागि किर्तिपुरस्थित वर्न अस्पताल रेफर गरिएको छ। अहिले उनको अवस्था मध्यम रहेको बताइएको छ।
आगलागी नियन्त्रणका लागि फापरबारी र हात्तिसुडे प्रहरी चौकीबाट थप प्रहरी टोली तथा बागमती गाउँपालिकाको दमकल समेत परिचालन गरिएको थियो। प्रहरी, स्थानीयवासी र दमकलको संयुक्त प्रयासपछि बिहान ९:४५ बजेतिर आगो पूर्ण रूपमा नियन्त्रणमा आएको हो।
प्रारम्भिक अनुसन्धानअनुसार पसल अगाडिको दियोमा पेट्रोल ड्रम पल्टिँदा आगो सल्किएको देखिएको प्रहरीले जनाएको छ।
आगलागीबाट दुईतले पक्की घर, करिब १५ लाख नगद, ३० थान ग्यास सिलिन्डर, पेट्रोल–डिजेल, खाद्यान्न, लत्ता कपडा, फर्निचर लगायतका सामान नष्ट भएका छन्। त्यस्तै, घरभित्र रहेको बा.प्र.०३–००६ प १८९७ नं.को पल्सर मोटरसाइकल र सामान किन्न आएको नारायणबहादुर स्याङ्तानको नाममा दर्ता ना.४९ प १३ नं.को पल्सर मोटरसाइकलसहित दुईवटा मोटरसाइकल जलेका छन्।
यसबाहेक, आगलागीमा एकवटा कुकुरको बच्चाको समेत मृत्यु भएको छ। प्रहरीका अनुसार यस घटनाबाट करिब २ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।