मकवानपुरको भीमफेदीस्थित क्षेत्रीय कारागारबाट २६० जना कैदीबन्दी फरार भएका छन्। मंगलबार राति करिब १२:५५ बजे ‘क’ ब्लकमा रहेका कैदीबन्दीहरूले पर्खाल भत्काएर भागेका हुन् भन्ने जानकारी कारागार प्रमुख सुवास पौडेलले दिनुभएको छ।
पौडेलका अनुसार, सुरुमा कैदीबन्दीहरूले तीनवटा गेट फुटाउने प्रयास गरेका थिए। जब गेट फुटाउन सकेनन्, तब पश्चिमतर्फको पर्खाल भत्काएर भागेका हुन्। सो ब्लकमा पाँच सयभन्दा बढी कैदी थिए, जसमा करिब २३० जनालाई पुनः नियन्त्रणमा लिइएको छ।
भाग्ने क्रममा सुरक्षाकर्मी र कैदीबन्दीबीच करिब चार घण्टा झडप भएको थियो। सेनाले चलाएको गोली लागेर दुई जना कैदी घाइते भएका छन्, र उनीहरूको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ। पौडेलका अनुसार, कारागारको गाडी लिएर भाग्ने प्रयास गर्दा टायरतर्फ चलाइएको गोली एक कैदीलाई लागेको हो।
उक्त घटनाका क्रममा कैदीबन्दीहरूले तोडफोड र आगजनी समेत गरेका थिए। स्थिति नियन्त्रणमा लिन सेनाले करिब २०० राउण्ड हवाई फायर, सशस्त्र प्रहरीले दुई राउण्ड हवाई फायर तथा अश्रुग्यास प्रयोग गरेको थियो। कारागारको ‘ख’ ब्लक भने सुरक्षित रहेको प्रशासनले जनाएको छ।