बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले बालबालिकालाई राष्ट्रको उज्ज्वल भविष्यको रूपमा चिनाउँदै उनीहरूको सुरक्षित र समृद्ध भविष्य सुनिश्चित गर्नु सबैको साझा जिम्मेवारी भएको बताएका छन्।
६१ औं राष्ट्रिय बाल दिवसका अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख देवकोटाले भने, “बालबालिकाको सुरक्षित र समृद्ध भविष्य सुनिश्चित गर्नु हामी सबैको साझा जिम्मेवारी हो।”
“बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी” भन्ने नाराका साथ यो वर्षको बाल दिवस मनाइँदैछ। सो सन्देशमा प्रदेश प्रमुख देवकोटाले स्वस्थ जीवन, गुणस्तरीय शिक्षा, पर्याप्त पोषण र सुरक्षित वातावरणमा गरिएको लगानीले मात्र बालबालिकाको समग्र विकास सम्भव हुने र उनीहरूलाई जिम्मेवार तथा सक्षम नागरिक बनाउने उल्लेख गरेका छन्।
नेपालको संविधानले बालबालिकाका हक र अधिकार सुनिश्चित गरेको स्मरण गराउँदै उहाँले भने, “बालमैत्री समाजमा निर्धक्क हाँस्न, खेल्न र आफ्ना सपना पूरा गर्न पाउनु बालबालिकाको नैसर्गिक अधिकार हो, र त्यो अधिकार सुनिश्चित गर्न हामी सबै जिम्मेवार हुनुपर्छ।”
बालश्रम, शोषण, दुर्व्यवहार र बालबालिकामाथि हुने सबै प्रकारका हिंसाको अन्त्यका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको पनि प्रदेश प्रमुख देवकोटाले बताए।
“विशेष दिनमा हामी सबैले बालबालिकाको मुस्कान जोगाउने र उनीहरूको उज्ज्वल भविष्य निर्माणमा हातेमालो गर्ने प्रण गरौं,” उहाँको सन्देशमा उल्लेख छ।