हेटौँडा/जेनजि पुस्ताको आन्दोलनका क्रममा बागमती प्रदेश सभा सचिवालयमा भएको तोडफोड र आगजनीका कारण नयाँ र पुराना दुवै भवन ध्वस्त बनेका छन् । गत असोज २४ गतेको आन्दोलनमा प्रदेश सभाको सम्पूर्ण संरचना जलेर नष्ट भएपछि अहिले कर्मचारीहरूले क्यान्टिनमार्फत आवश्यक कामकाज सञ्चालन गरिरहेका छन् ।
प्रदेश सभाका सचिव पूर्णबहादुर दर्जीका अनुसार तोडफोडका क्रममा कुर्सीसमेत प्रयोग गर्न नसक्ने गरी ध्वस्त भएको छ । “तत्कालीन कामहरू गर्नुपर्ने भएकाले क्यान्टिनबाटै सेवा दिइरहेका छौँ,” दर्जीले बताए।
यसैबीच प्रदेश प्रमुख कार्यालयका कानुन अधिकृत तथा प्रवक्ता मनोजकुमार गुप्ताले आन्दोलनकारीहरूले करिब १२ करोड २९ लाख लागतमा बनेको नवनिर्मित भवन समेत जलाएर नष्ट पारेको जानकारी दिए । गत साउन २७ गते मात्र औपचारिक रुपमा उद्घाटन गरिएको भवनमा जम्मा चारवटा बैठक मात्र बसेको अवस्थामा पूर्णरूपमा क्षति पुगेको उनले बताए ।
झन्डै साढे चार वर्ष लगाएर बनेको उक्त भवनसहित पुरानो भवन पनि जलाइएपछि करिब ३० करोड बराबरको क्षति पुगेको प्रदेश सभा सचिवालयले जनाएको छ । हाल तत्काल प्रदेश सभाको बैठक सञ्चालन गर्ने अवस्था नरहेको प्रवक्ता गुप्ताले बताए।