बागमती प्रदेश सरकारले चालू आर्थिक वर्ष २०८२/८३ को लागि ल्याएको बजेट पुनरावलोकन गर्ने तयारी थालेको छ।
शुक्रबार हेटौंडामा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले बजेट पुनरावलोकनका लागि अध्ययन गर्ने प्रस्ताव स्वीकृत गरेको हो। निर्णयबारे जानकारी दिंदै सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले वर्तमान विषम परिस्थितिमा बजेट अभाव देखिएको र प्रशासनिक पुनःसंरचनाका कारण थप आर्थिक भार पर्ने भएकाले पुनरावलोकन अपरिहार्य भएको बताए।
पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा नेतृत्वको सरकारले ल्याएको ६७ अर्ब ४७ करोडको बजेट सुरु देखिनै विवादित बनेको थियो। बजेटमा देखिएका त्रुटि र बदनीयतबारे अध्ययन गर्न नेपाली कांग्रेस र नेकपा एमालेका दुई–दुई प्रतिनिधि रहेको कार्यदल गठन गरी अध्ययनसमेत गरिएको थियो।
यसअघि बिहीबार साँझ हेटौंडामा बसेको सर्वदलीय बैठकले पनि खर्च कटौती गर्ने निर्णय गरेको थियो। सरकारले पुनरावलोकनमार्फत खर्च कटौती, प्रशासनिक संरचना परिमार्जन लगायतका कदम चाल्ने तयारी गरेको छ।
यस्तै, अघिल्लो मन्त्रिपरिषद् बैठकले १० लाख वा सो भन्दा माथिका योजना ठेक्का प्रक्रियाबाट मात्र कार्यान्वयन गर्ने निर्णय गरिसकेको छ। चालू आर्थिक वर्षको बजेटमध्ये २६ अर्ब ४ करोड ४६ लाख ९१ हजार चालूतर्फ र ४१ अर्ब ४३ करोड २६ लाख ३६ हजार पुँजीगततर्फ विनियोजन भएको छ।