हेटौंडा/आन्दोलनका कारण सेवा प्रवाह अवरुद्ध भएका हेटौंडा उपमहानगरपालिकाका तीन वटा वडा कार्यालयलाई टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडाले कम्प्युटर हस्तान्तरण गरेको छ।
वडा नं. १९, ३ र ११ का कार्यालयलाई सेवा सहज र सुचारु बनाउन प्रत्येकलाई एक–एक थान कम्प्युटर प्रदान गरिएको हो। आन्दोलनका कारण रोकिएको सेवालाई पुनः सञ्चालन गर्न गरिएको यो सहयोगलाई महत्वपूर्ण पहलको रूपमा लिइएको छ।
समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीले हस्तान्तरण कार्यक्रममा भने,“हाम्रो संस्था सदैव समाज र नगरप्रति उत्तरदायी रहँदै आएको छ। प्रभावित सेवाहरू छिट्टै सञ्चालन होस् र डिजिटल कार्यप्रणाली सहज बनोस् भन्ने उद्देश्यले यो सहयोग गरेका हौँ। सानो हातेमालोले सेवा प्रवाहलाई मात्र सहज बनाउँदैन, अन्य संस्थालाई पनि उत्तरदायी बन्न प्रेरणा दिन्छ।”
वडा नं. १९ का अध्यक्ष नरनाथ सुवेदीले सहयोगले ठूलो राहत पुगेको भन्दै वडाबासीलाई छिटोछरितो सेवा दिन यसले सहयोग गर्ने बताए। वडा नं. ३ का अध्यक्ष ढलक बहादुर थापाले आन्दोलनले अवरुद्ध पारेको दैनिक प्रशासनिक काम सहज हुने विश्वास व्यक्त गरे। वडा नं. ११ की अध्यक्ष जुना दाहालले विपत्मा हातेमालो गर्दै अघि बढ्नुपर्छ भन्ने सकारात्मक सन्देश यस कार्यक्रमले दिएको बताउँदै कम्प्युटरमार्फत डिजिटल सेवा विस्तारमा जोड दिने प्रतिबद्धता जनाइन्। 
स्थानीय जनप्रतिनिधि, सरोकारवाला र नागरिक समाजका सदस्यहरूले संस्थाको यो कदमलाई स्वागत गर्दै समाज र नगरप्रति जिम्मेवारीपूर्वक योगदान गर्न सबैलाई आह्वान गरेका थिए।
टोल विकास संस्था नगर समन्वय समितिले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रमलाई निरन्तरता दिने बताए ।







