बागमती प्रदेश सरकारका माननीय मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बुधबार साँझ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विभागीय मन्त्री र सचिवहरूको संयुक्त बैठक सम्पन्न भएको छ।
बैठकमा मुख्यमन्त्री बानियाँले प्रदेश सरकारको अस्तित्व र जिम्मेवारीलाई व्यवहारमै देखाउने समय आएको उल्लेख गर्दै “टुक्रे योजनाहरू नगरी बहुवर्षीय, उत्पादन र आयआर्जनसँग जोडिएका योजनालाई प्राथमिकता दिनुपर्छ” भन्नेमा जोड दिनुभयो। उहाँले प्रदेश र स्थानीय सरकार दुवै जनताबाट निर्वाचित सरकार भएको स्मरण गराउँदै विकास, सेवा प्रवाह र परिणाममुखी काममार्फत जनतामा प्रदेशको प्रभावशाली उपस्थिति देखाउन सबैलाई आह्वान गर्नुभयो।
मुख्यमन्त्री बानियाँले हाल देश संघीय निर्वाचनतर्फ अघि बढिरहेको सन्दर्भमा प्रदेश सरकार कुनै अन्योलमा नरहेको स्पष्ट पार्दै “निर्णय र कार्यान्वयनलाई निरन्तरता दिनुपर्छ, सुविधा लिनेमा प्रतिस्पर्धा नगरी जनताका सेवामा समर्पित हुनुपर्छ” भन्ने संदेश दिनुभयो। उहाँले प्रदेश सरकारका निर्णय र कामहरूको पर्याप्त प्रचार–प्रसार हुन नसकेको उल्लेख गर्दै अब उपलब्धि जनतामाझ पुर्याउने अवसर आएको पनि बताउनुभयो।
बैठकमा विभागीय मन्त्रीज्यू र सचिवहरूले आफ्ना मन्त्रालय तथा मातहतका कार्यालयहरूमा हालैको जेनजी प्रदर्शन र मागका क्रममा भएको क्षतिको विवरण प्रस्तुत गरे। साथै, सो क्रममा मृत्युवरण गर्नुभएकाप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको थियो। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको शुभकामना समेत व्यक्त गर्नुभएको थियो।







