हेटौंडा/बडादशैंको अवसर पारेर मकवानपुरको मनहरी गाउँपालिकाले भीमफेदी कारागारमा रहेका कैदीबन्दीलाई विशेष सहयोग पुर्याएको छ। आइतबार आयोजित कार्यक्रममा गाउँपालिकाले २ वटा खसी, ७ बोरा चामल, ६ बोरा चिउरा, अढाई कार्टुन तेल र एउटा प्रिन्टर कारागार प्रशासनलाई हस्तान्तरण गरेको हो।
गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती र उपाध्यक्ष सीता पुलामीसहितका जनप्रतिनिधिबाट गरिएको सहयोग कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो। अध्यक्ष कालाखेतीले कैदीबन्दीहरूले पनि चाडपर्व खुशीपूर्वक मनाउन पाउनुपर्ने भन्दै गाउँपालिकाले हरेक वर्ष यस किसिमको सहयोग गर्दै आएको बताए।
सो अवसरमा वडा नं. १ का अध्यक्ष शिवप्रसाद खनाल, वडा नं. २ का अध्यक्ष राजकुमार पाख्रिन, वडा नं. ३ का अध्यक्ष अनन्तप्रकाश अर्याल, वडा नं. ६ का अध्यक्ष यादव थपलिया र वडा नं. ७ का अध्यक्ष ठाकुर तितुङ लगायत सहभागी थिए।
हाल भीमफेदी कारागारमा मनहरी गाउँपालिकाका मात्रै करिब ६० जना कैदीबन्दी रहेका छन्।








