हेटौंडा/नेपाल प्रेस युनियन मकवानपुर शाखाले प्रदान गर्दै आएको स्वर्गीय सीतादेवी स्मृति प्रेस युनियन पत्रकारिता पुरस्कारको राशी बढाएर ५० हजार रुपैयाँ पुर्याइएको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक तथा पुरस्कारका प्रायोजक चिरञ्जीबी ढकालले हेटौंडामा प्रेस युनियन मकवानपुरको टोलीसँगको भेटघाटका क्रममा आगामी वर्षदेखि पुरस्कार राशी ५० हजार रुपैयाँ पुर्याउने घोषणा गरेका हुन्।
ढकालको घोषणासँगै यो पुरस्कार मकवानपुर पत्रकारिता क्षेत्रमा सर्वाधिक नगद राशीको पत्रकारिता पुरस्कार बन्ने भएको छ। यसअघि पुरस्कारको राशी १५ हजार रुपैयाँ मात्र रहेको थियो। सो पुरस्कारबाट पहिलो पटक नेपाल प्रेस युनियन मकवानपुरका संस्थापक अध्यक्ष राममणि दाहाल सम्मानित भइसकेका छन्।
भेटघाटका क्रममा प्रायोजक ढकालले पत्रकारहरूलाई संगठित भएर व्यावसायिक नेतृत्व विकासमार्फत युनियनलाई अझ सशक्त बनाउन आग्रह गरे। उनले प्रेस स्वतन्त्रता र पत्रकारको पेशागत सम्मान सुदृढ गर्न युनियनको भूमिकाको प्रशंसा गर्दै निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास बिडारीले पत्रकारिता पुरस्कारको राशी बढाउने निर्णय ऐतिहासिक भएको बताए। “मकवानपुरको पत्रकारिता क्षेत्रमा यो गौरवको क्षण हो,” अध्यक्ष बिडारीले भने, “पत्रकारितालाई पेशा मानेर निरन्तर कर्ममा लागेकाहरूलाई नगद ५० हजारसहित सम्मान गर्न पाउनु युनियनकर्मीका लागि गर्वको कुरा हो।”
उनका अनुसार, युनियनले उक्त पुरस्कार प्रत्येक दुई वर्षमा प्रदान गर्नेछ। साथै, युनियनले स्थापना गरेका अन्य तीनवटा पुरस्कार साधारणसभा र अधिवेशनका अवसरमा वितरण गरिने जानकारी पनि उनले दिए। “स्वर्गीय सीतादेवी स्मृति पत्रकारिता सम्मानलाई विशेष कार्यक्रममार्फत वितरण गरिनेछ र यसका लागि संस्थाले आन्तरिक कार्यविधि तयार पार्नेछ,” अध्यक्ष बिडारीले थपे।
उनले मकवानपुरे पत्रकारलाई प्राथमिकतामा राख्दै पुरस्कार वितरण गरिने बताउँदै यो पुरस्कार सम्पूर्ण मकवानपुरे पत्रकारहरूको साझा सम्मान हुने विश्वास व्यक्त गरे।







