हमासको नियन्त्रणमा रहेका नेपाली नागरिक बिपिन जोशी जीवित रहेको पुष्टि भएको छ। हालै सार्वजनिक भएको बन्धकहरूको नयाँ सूचीमा उनको नाम समावेश भएपछि नेपालमा खुशीको लहर फैलिएको छ।
यसअघि बिपिन जोशीको अवस्थाबारे अनिश्चितता रहेको समाचार सीएनएनले प्रकाशित गरेको थियो। तर, हमास र इजरायलबीचको युद्धविराम सम्झौतापछि सार्वजनिक गरिएको २२ जना जीवित बन्धकहरूको सूचीमा बिपिन जोशीको नाम पनि रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
टाइम्स अफ इजरायल, एपीसहितका माध्यमहरूले उल्लेख गरेअनुसार युद्धविरामको पहिलो चरणअन्तर्गत सोमबारदेखि मंगलबारसम्म बन्धकहरूलाई रिहा गर्ने तयारी भइरहेको छ। इजरायलले सोही अवधिमा झन्डै दुई हजार प्यालेस्टिनी कैदी रिहा गर्ने योजना बनाएको बताइएको छ।
२२ जना जीवित बन्धकमध्ये नेपालका बिपिन जोशी पनि फर्किने अपेक्षा गरिएको छ। उनीसँगै जीवित ठानिएका अन्य व्यक्तिहरूमा गाली बर्मन, जिभ बर्मन, एलकाना बोहबोट, रोम ब्रास्लाभस्की, निमरोड कोहेन, एरियल क्युनियो, डेभिड क्युनियो, एभ्याटर डेभिड, गाय गिल्बोआ-दलाल, म्याक्सिम हार्किन, इटान हर्न, सेगेभ काल्फोन, बार कुपर्श्टाइन, मातान आङ्ग्रेस्ट, ओम्री मिरान, इटान मोर, तामिर निम्रोदी, योसेफ-चाइम ओहाना, एलोन ओहेल, अविनाटन ओर र मातान जंगाउकर रहेका छन्।
बिपिन जोशी जीवित रहेको समाचारसँगै उनका परिवार, मित्र र सम्पूर्ण नेपाली समुदाय आशावादी बनेका छन्। युद्धविरामपछि हुने बन्धक मुक्तिसँगै उनी स्वदेश फर्कने अपेक्षामा देशभर उत्साह देखिएको छ।








