बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफू निर्वाचित क्षेत्रका विपन्न नागरिकका लागि गरेको प्रतिवद्धता पूरा गर्दै मकवानपुरको मनहरी गाउँपालिका–९ ज्यामिरेकी एकल दलित महिला मिठुमाया सुनारलाई नयाँ घर हस्तान्तरण गरेका छन्।

मुख्यमन्त्री बानियाँले साउन महिनामा पदभार ग्रहण गर्दा राज्यबाट प्राप्त हुने सेवा सुविधा नलिने र त्यही रकम विपन्न नागरिकको घर निर्माणमा प्रयोग गर्ने घोषणा गरेका थिए। सोही घोषणाअनुसार उनले व्यक्तिगत रूपमा ४ लाख ६५ हजार रुपैयाँ खर्च गरी मिठुमाया सुनारको तीन कोठे शौचालयसहितको पक्की घर निर्माण गराएका हुन्। कुल लागत करिब ७ लाख रुपैयाँ रहेको उक्त घर पिल्लरसहित ब्लकको पर्खाल र जस्तापाता छानासहित निर्मित गरिएको हो।
घर निर्माणमा नेपाली काँग्रेसका स्थानीय नेता तथा कार्यकर्ताले श्रमदान र नगद सहयोग समेत प्रदान गरेका थिए। संयोजनकर्ता एवं काँग्रेस मनहरी गाउँपालिकाका सभापति प्रकाश वर्तौलाका अनुसार, यो कार्य सामूहिक सहयोग र मानवसेवाको उत्कृष्ट उदाहरण बनेको छ।

गरिबीका कारण वर्षौंदेखि समस्या झेल्दै आएकी मिठुमायाको परिवार केही वर्षअघि पतिले आत्महत्या गरेपछि थप संकटमा परेको थियो। बस्ने घर समेत जीर्ण अवस्थामा रहेको उनको परिवारका लागि गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले मुख्यमन्त्रीलाई सिफारिस गरेका थिए।
घर हस्तान्तरण समारोहमा मुख्यमन्त्री बानियाँले मिठुमायालाई आत्मनिर्भर बनाउनका लागि २० हजार रुपैयाँ नगद सहयोग गरी बाख्रा पालन सुरु गर्न प्रोत्साहन पनि गरे।
उनले कार्यक्रममा भने, “मानवीय सेवा र समाज उत्थानका लागि नै हामी राजनीति गर्छौं। विपन्न परिवारलाई घरमात्र होइन, आयआर्जनका अवसर पनि उपलब्ध गराउन प्रदेश सरकारले योजनाबद्ध रूपमा काम गरिरहेको छ।”
मुख्यमन्त्री बानियाँले आफ्नो निर्वाचन क्षेत्र मकवानपुर–२ (ख) अन्तर्गत अन्य दुई विपन्न नागरिक — राक्सिराङ गाउँपालिका–१ का सुमनसिं चेपाङ र कैलाश गाउँपालिका–४ का लालकुमार प्रजा चेपाङका लागि पनि घर निर्माण भइरहेको जानकारी दिए। ती घरहरू कात्तिक महिनाभित्र सम्पन्न गरिने तयारी छ।
बानियाँले प्रदेशभर एक हजार विपन्न परिवारका लागि घर निर्माण गर्ने योजना अघि सारेका छन्। उनका अनुसार, प्रति घर औसत ५ लाख रुपैयाँ लागत र आयआर्जनका लागि थप २ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएमा ७५ करोड रुपैयाँको लगानीमा एक हजार परिवारलाई आवास र आयआर्जन दुबैको व्यवस्था गर्न सकिनेछ।
कार्यक्रममा प्रदेश सरकारका सहकारी तथा गरिबी निवारण मन्त्री बिनु रायमाझी पौडेल, काँग्रेस मकवानपुरका सभापति बुद्ध लामा, मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेती, वडा अध्यक्ष राजकुमार श्रेष्ठलगायतले मुख्यमन्त्री बानियाँको कार्यलाई उदाहरणीय कदमका रूपमा व्याख्या गरेका थिए।


