हेटौंडा/बागमती प्रदेश सरकारले छवटा स्थानीय तहमा न्यायिक सहजकर्ता पदका लागि दरखास्त आह्वान गरेको छ।
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ५ जिल्लाका ६ गाउँपालिकामा करार सेवामा स्थानीय न्यायिक सहजकर्ता नियुक्तिका लागि सूचना प्रकाशित गरेको हो। मन्त्रालयका अनुसार ‘स्थानीय न्यायिक सहजकर्ता (नियुक्ति तथा परिचालन) कार्यविधि, २०८२’ बमोजिम रिक्त पद पूर्ति गर्न लागिएको हो।
मकवानपुर जिल्लाको कैलाश गाउँपालिका र मकवानपुरगढी गाउँपालिका, रामेछापको लिखु तामाकोसी गाउँपालिका, ललितपुरको कोन्ज्योसोम गाउँपालिका, दोलखाको तामाकोसी गाउँपालिका र रसुवाको आमाछोदिङ्मो गाउँपालिकामा दरखास्त मागिएको मन्त्रालयले जनाएको छ।

इच्छुक र योग्य नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कार्यालय समयभित्र आवेदन दिन सक्नेछन्। आवेदनका लागि न्यूनतम शैक्षिक योग्यता कानुन विषयमा माध्यमिक शिक्षा (एसईई) वा प्रवीणता प्रमाणपत्र तह (आई.एस.सी./आई.कॉम./आई.ए.) वा सो सरह उत्तीर्ण हुनुपर्नेछ।
त्यस्तै, उमेर १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने मन्त्रालयले जनाएको छ। आवेदकले कुनै एक गाउँपालिकाका लागि मात्र दरखास्त दिन पाउने र हाल अन्य कुनै गाउँपालिकामा कार्यरत न्यायिक सहजकर्ताले आवेदन दिन नपाउने व्यवस्था गरिएको छ।








