मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखास्थित कान्तिलोकपथ सडकखण्डमा ठूला ढुङ्गा खस्दा बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ। आज बिहान करिब ६ः५५ बजे बाटो माथिबाट ढुंगा खसेपछि सवारीसाधनको आवागमन रोकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए।
घटनापछि अस्थायी प्रहरी पोष्ट जितपुरबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ। टोलीले स्थानीय निकायसँग समन्वय गरी सडक खुलाउने प्रयास भइरहेको जनाएको छ। उक्त स्थान अस्थायी प्रहरी पोष्ट जितपुरबाट करिब ४ किलोमिटर पूर्वतर्फ पर्ने बताइएको छ।
यस्तै, हिजो साँझदेखि कुलेखानी–दक्षिणकाली सडकखण्ड पनि अवरुद्ध भएको छ। इन्द्रसरोवर गाउँपालिका–३ ज्यामिरेस्थित सिस्नेरी सडकखण्डमा अविरल वर्षाका कारण पहिरो खसी बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक बोगटीले बताए।
प्रहरीका अनुसार दुबै सडकखण्डमा सडक विभागसँग समन्वय गरी बाटो खुलाउने प्रयास भइरहेको छ। हाल सवारीसाधन आवागमन अवरुद्ध भएकाले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ। 








