कैलाश गाउँपालिका–७ का रतुवा र ताम्लाङका ३२ घरधुरीमा “एक घर एक धारा” निर्माण सम्पन्न गरिएको छ। चेपाङ समुदायको बसोबास रहेको सो टोललाई मंगलबार एक विशेष कार्यक्रमका बीच “पूर्ण सरसफाई उन्मुख तथा सुरक्षित खानेपानीयुक्त समुदाय” घोषणा गरिएको हो। कार्यक्रम वडाध्यक्ष उदासकुमार भोलनको सभाध्यक्षता र गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।
कार्यक्रममा अध्यक्ष मुक्तानले खानेपानीलाई नागरिकको मौलिक अधिकार भन्दै सुरक्षित पानी र सरसफाई प्रत्येकको दायित्व भएको बताए। “मानव जीवनमा पानी अपरिहार्य तत्व हो, त्यसैले सबैले फिल्टरमार्फत शुद्ध पानी मात्र पिउनुपर्छ,” उनले आग्रह गरे। उनले गाउँपालिकाले खानेपानीका कार्यक्रमलाई दिगो बनाउन विभिन्न संस्थासँग सहकार्य गर्दै आएको उल्लेख गर्दै संरचना मर्मत र संरक्षणका लागि उचित शुल्क उठाउनुपर्ने बताए। साथै, मुहान दर्ता र बीमा कार्यक्रम ल्याइएकाले मुहान भत्किएमा बीमा मार्फत पुनर्निर्माण सहज हुने जानकारी दिए।
अध्यक्ष मुक्तानले “एक घर एक धारा” राज्यको नीति भएको बताउँदै, गाउँपालिकाले क्रमिक रूपमा सबै टोलमा सो कार्यक्रम विस्तार गर्दै जाने प्रतिवद्धता जनाए। उनले चेपाङ समुदाय बढी बसोबास हुने वडामा स्वास्थ्य, शिक्षा र सरसफाईका क्षेत्रमा प्रदेश सरकारका विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहेको पनि उल्लेख गरे।
गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले सरसफाईका सूचक र उपसूचकहरू पालना गर्न आग्रह गर्दै स्वास्थ्यभन्दा ठूलो सम्पत्ति अरू केही नभएको बताए। “धेरै रोगको मूल कारण प्रदूषित पानी हो, त्यसैले आ–आफ्नो बानी परिवर्तन गर्नुपर्छ,” उनले भने।
वडाध्यक्ष उदासकुमार भोलनले पनि स्वच्छ पानी, सरसफाई र स्वच्छ वातावरण सबैको साझा जिम्मेवारी भएको बताए। “घोषणा गरेर मात्रै पुग्दैन, मुहानदेखि भान्सासम्मको पानी सफा हुनु जरुरी छ,” उनले भने। उनका अनुसार ३२ घरमा धारा र फिल्टर वितरणसँगै शौचालय नभएका घरमा शौचालय निर्माण पनि गरिएको छ।
ग्रामीण पुनर्निर्माण केन्द्र (RRN) का जिल्ला संयोजक लीलबहादुर कार्कीले जर्मन सरकारको सहयोगमा डब्लुएचएच र आरआरएनले गाउँपालिकासँग साझेदारीमा सुरक्षित पानी र सरसफाई अभियान सञ्चालन गरिरहेको जानकारी दिए। उनले प्रदूषित पानीका कारण ६० प्रतिशत रोग फैलिने बताउँदै, सरसफाईका ७ सूचक र २३ उपसूचकको पालना गर्न आग्रह गरे।
कार्यक्रममा वडा सचिव युगचन्द्र भट्टराई, ताम्लाङ स्वास्थ्य चौकी प्रमुख मेनुका ठाकुर, खानेपानी उपभोक्ता समितिका अध्यक्ष शिवराम चेपाङ, सरस्वती प्राथमिक विद्यालयकी प्रधानाध्यापक निर्मला सिन्तान लगायत स्थानीयको उपस्थिति रहेको थियो।








