बाग्मती प्रदेश सरकारले ग्रामीण भेगका नागरिकलाई रोजगारसँग जोड्न निब्र्याजी ऋण उपलब्ध गराउने तयारी गरेको छ।
आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङका अनुसार ‘एक घर–दुई भैँसी’ कार्यक्रम अन्तर्गत प्रदेश सरकारले भैँसी खरिदका लागि निब्र्याजी ऋण प्रदान गर्नेछ।
युवालाई आत्मनिर्भर बनाउने लक्ष्यसहित यो कार्यक्रममा सहभागी हुन विशेष आग्रह गरिएको छ। दूध डेरी स्थापना, दाना तथा मलखाद व्यवस्थापनजस्ता आवश्यक पूर्वाधारमा पनि प्रदेश सरकार सहयोग गर्न तयार रहेको मन्त्री तामाङले जानकारी दिनुभयो।
जिल्ला समन्वय समिति रसुवाद्वारा आयोजित दशौँ जिल्लासभामा जिल्लास्थित सरकारी कार्यालयहरूको वार्षिक प्रगति प्रस्तुत गरिएको थियो। सभामा सहभागीहरूले राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पर्ने गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक सुधार आयोजनाको प्रगति प्रस्तुत नभएको क्षेत्रलाई लिएर आलोचना समेत गरेका थिए।




