बागमती प्रदेश मन्त्रिपरिषद्को बैठकले आज विभिन्न मन्त्रालयसँग सम्बन्धित प्रशासनिक, संरचनात्मक र मानवस्रोत व्यवस्थापनका महत्वपूर्ण निर्णयहरू गरेको छ।
मन्त्रिपरिषद्का प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री जगतकुमार तामाङले बैठकका निर्णयहरूबारे जानकारी गराउँदै सरकारको सेवा प्रवाहलाई सुशासित, व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले आवश्यक कदम उठाइएको बताए।
बैठकले प्रदेशको सोहीँ अधिवेशन सञ्चालनसम्बन्धी प्रक्रिया अघि बढाउने तथा प्रदेश सचिवलाई आवश्यक कार्यका लागि खटाउने निर्णय गरेको छ। श्रम, रोजगार तथा यातायात मन्त्रालयमा रामबाबु पुरीलाई खटाइने निर्णयसमेत बैठकले गरेको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत महत्वपूर्ण सरुवासम्बन्धी निर्णयहरू पनि बैठकले पारित गरेको छ। यस अनुसार कृषि निर्देशनालय हेटौंडामा नारायणकुमार श्रेष्ठलाई जिम्मेवारी तोकिएको छ भने तालिम केन्द्र, भण्डारमा सुदीर श्रेष्ठको सरुवा गरिएको छ। त्यस्तै कृषि सेवातर्फका एघारौं तहका निर्देशक तथा प्रमुखहरूको सरुवा गर्ने निर्णयसमेत बैठकले गरेको छ।
शिक्षा क्षेत्रमा पनि बैठकले आवश्यक प्रशासनिक प्रक्रिया अघि बढाउने क्रममा शिक्षा विकास निर्देशनालयका कायम महानिर्देशक गोपाल कँडेलको पदसम्बन्धी कार्य अघि बढाउने निर्णय गरेको छ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयले सशस्त्र प्रहरी कार्यालयका गैरआवासीय भवन निर्माण, खरिद तथा बनेका संरचनाहरूको मर्मतसम्भारका लागि आवश्यक बजेट तथा प्रक्रिया स्वीकृत गराइएको जानकारी दिएको छ।
त्यस्तै आर्थिक मामिला तथा योजना मन्त्रालयले ‘प्रदेश आयोजनाको बहुवर्षीय ठेक्का सहमति मापदण्ड, २०८२’ स्वीकृत गर्ने निर्णय गरेको छ।




