मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले आफ्नो सेवा–सुविधाबाट प्राप्त रकम प्रयोग गरी विपन्न विद्यार्थीलाई विद्यालय पोसाक सहयोग गरेका छन्।
साेमबार मनहरी–४ मा रहेका २३ जना विपन्न तथा दलित विद्यार्थीलाई अध्यक्ष कालाखेतीले पोसाक हस्तान्तरण गरेका हुन्। विद्यालयको स्वर्ण महोत्सव कार्यक्रम उद्घाटनका अवसरमा करिब ४३ हजार रुपैयाँ बराबरको पोसाक वितरण गरिएको हो।
विद्यालयले पहिचान गरेका विपन्न विद्यार्थीको सूचीनुसार आफ्नै तलब–भत्ताबाट सहयोग गरेको अध्यक्ष कालाखेतीले जानकारी दिए। २०७९ सालमा अध्यक्ष निर्वाचित भएपछि उनले आफ्नो तलब–भत्ता विपन्न गाउँबासीका हितमा खर्च गर्ने प्रतिज्ञा गरेका थिए। यही प्रतिज्ञाअनुसार मनहरी–५ मा एक विपन्न एकल महिलाको घर निर्माण गरिएको छ भने मनहरी–६ मा पनि घर निर्माण कार्य जारी छ।
स्वर्ण महोत्सवको अवसर पारेर पशुपति माध्यमिक विद्यालयले सञ्चालन गरेको सप्ताहव्यापी कार्यक्रमको अध्यक्ष कालाखेतीले विद्यालय प्राङ्गणमा झण्डा उचालेर उद्घाटन गरे। महोत्सवको उद्घाटनसँगै विद्यार्थीबीच चम्चा दौड, बोरा दौडसहित विभिन्न खेलाडी प्रतियोगिता सञ्चालन गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष माधव गौतमले जानकारी दिए।
महोत्सवका विभिन्न कार्यक्रमहरू मंसिर १५ गते बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा सम्पन्न गरिने तयारी छ।
उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीको प्रमुख आतिथ्यता रहेको थियो। त्यस्तै मनहरी–४ का वडाध्यक्ष प्रकाश थापा, वडा नं. ९ का वडाध्यक्ष राजकुमार श्रेष्ठ, विद्यालयका पूर्व अध्यक्ष पवन खड्का लगायतको सहभागिता रहेको विद्यालयले जनाएको छ।







