सडक डिभिजन कार्यालय हेटौंडाले २५–२५ गज सडक विस्तारका क्रममा विस्थापित हुने व्यापारीका लागि बजार क्षेत्रमा वैकल्पिक व्यवस्थापन मिलाइने हेटौंडा उपमहानगरपालिकाले जनाएको छ।
उपमहानगरका अनुसार हेटौंडा बसपार्कमा रहेका ४० वटा सटरमा मकवानपुर उद्योग वाणिज्य संघको समन्वयमा विस्थापित व्यापारीलाई राख्न सकिने व्यवस्था मिलाइएको छ। त्यस्तै, हेटौंडा–११ स्थित तरकारी, फलफूल तथा थोक बजारका लागि निर्माण भएका ६० वटा कोठामा समेत व्यापारीलाई समायोजन गर्न सकिने उपमहानगर स्रोतले जनाएको छ।
भुटनदेवी माध्यमिक विद्यालयले निर्माण गरेका खाली सटरहरूमा पनि आवश्यक अनुसार पुनःस्थापना गर्न सकिने छ। उपमहानगरका अनुसार धेरैजसो व्यापारीले हेटौंडा बजार क्षेत्रमाै दुईवटा पसलमार्फत आफैं वैकल्पिक व्यवस्था गरिसकेका छन्।
सडक विस्तारको तयारीसँगै लामो समयदेखि खाली रहेको नारायणी मलका सटरहरू पनि व्यापारीहरूले अग्रिम बुक गरिसकेका छन्। बजार क्षेत्रमा खाली रहेका विभिन्न सुपरमार्केटहरूमा समेत विस्थापित व्यापारीलाई बसाल्न सकिने उपमहानगरको भनाइ छ।
विस्थापित व्यापारीहरूको पुनर्स्थापनाका लागि आवश्यक सहयोग र समन्वय गरी दिन हेटौंडा उपमहानगरपालिकाले मकवानपुर उद्योग वाणिज्य संघलाई आग्रह गरेको जनाएको छ।




