मकवानपुरको कैलाश गाउँपालिका–३ खिर्कीका बीस घरधुरीमा शौचालय निर्माण हुने भएको छ। तामाङ र सीमान्तकृत चेपाङ समुदाय बसोबास गर्ने उक्त बस्तीमा सुरक्षित तथा व्यवस्थित शौचालय निर्माण हुने भएपछि स्थानीयवासी उत्साहित भएका छन्।
शुक्रबार गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले लाभग्राहीलाई शौचालय प्यान हस्तान्तरण गर्दै निर्धारित समयमा निर्माण सम्पन्न गर्न आग्रह गरे। “खाल्डो खन्ने काम सकिएको छ, अब २५ दिनभित्र निर्माण पूरा गर्नुहोस्,” उनले भने। राज्यले ‘एक घर, एक धारो’ अवधारणा अघि सारेसँगै त्यसको सूचकमा शौचालय र सरसफाइ महत्त्वपूर्ण रहेको उनले बताए।
जथाभावी दिशा–पिसाबले विभिन्न प्रकारका पानीजन्य तथा सरसफाइसम्बन्धी रोग फैलिने भएकाले अनिवार्य रूपमा शौचालय प्रयोग गर्नुपर्ने सुझाव पनि अध्यक्ष मुक्तानले दिए। “संस्थाको आफ्नै नियम हुन्छ, समयसीमाभित्रै काम सम्पन्न गर्नुस्,” उनले जोड दिए। गाउँपालिकाले चाँडै सुरक्षित खानेपानीका लागि पनि काम सुरु गर्ने तयारी गरेको छ।
बाल विकास कार्यक्रम नेपालले २० घरधुरीलाई शौचालय निर्माणका लागि आवश्यक सबै सामग्री उपलब्ध गराएको छ। संस्थाले गाउँपालिकाभित्र शिक्षा तथा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ। यसअघि पनि संस्थाले वडा तहका कार्यालयहरूलाई सरसफाइ सामग्री हस्तान्तरण गरेको थियो।
सामग्री हस्तान्तरण कार्यक्रममा संस्थाका अध्यक्ष बालकृष्ण भट्टराई र अन्य प्रतिनिधिहरूको उपस्थिति थियो। संस्थाको नियम तथा लाभग्राहीसँगको सम्झौता अनुसार २५ दिनभित्र निर्माण सम्पन्न गर्नुपर्ने बताउँदै अध्यक्ष भट्टराईले सिमेन्ट, रड, प्यान, जस्तापाता लगायतका सामग्री उपलब्ध गराइएको जानकारी दिए।







