वर्षौंदेखि साँघुरो रहेको हेटौंडा बजार सडक विस्तार परियोजनाअन्तर्गत रातोमाटोदेखि बुद्धचोकसम्म ६.३ किलोमिटर र त्रिभुवन राजपथअन्तर्गत बुद्धचोकदेखि सामरी पुलसम्म ३.२ किलोमिटर गरी कुल ९.५ किलोमिटर सडक खण्डमा पर्ने सडक सीमाभित्रका संरचनाहरू हटाउने काम सम्पन्न भएको छ।

२५–२५ मिटर सडक सीमा तोकिएको क्षेत्रमा पर्ने सार्वजनिक, सामुदायिक र व्यक्तिगत गरी कुल ५३१ घर–टहरा शनिबार डोजर प्रयोग गरेर भत्काइएका सडक डिभिजन कार्यालयले जानकारी दिएको छ।
मंसिर २० गते एकै दिन सबै संरचना हटाइसकेपछि सडक डिभिजनले उपयोगी झ्याल–ढोका तथा अन्य सामग्री सुरक्षित गर्न २ दिनको समय दिएको छ। त्यस्तै भत्किएको क्षेत्र ४ दिनभित्र पूर्णरूपमा खाली र सफा गर्नुपर्ने कार्यालयले जनाएको छ।
सडक डिभिजन कार्यालय हेटौंडाका प्रमुख गुरु प्रसाद अधिकारीका अनुसार तोकिएको म्यादभित्र सामग्री हटाउने र सफाइ कार्य अनिवार्य रूपमा पूरा गर्नुपर्नेछ।







