मकवानपुरको कैलाश गाउँपालिकामा पहिलोपटक पालिका–स्तरीय शैक्षिक प्रदर्शनी सम्पन्न भएको छ। बुधबार कैलाश–३ स्थित भवानी माध्यमिक विद्यालयमा आयोजित प्रदर्शनीमा पालिकाभित्रका आठ विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथि रहेका गाउँपालिकाका अध्यक्ष लोक मुक्तानले विद्यार्थीले तयार पारेका परम्परागत सामग्री, हस्तकला, मेसिन उपकरण, वैज्ञानिक मोडललगायत प्रदर्शनी सामग्रीले विद्यार्थीबीच ज्ञान आदानप्रदान थप सशक्त हुने बताए। उनले प्रदर्शनीलाई पालिकाको नीतिमा समेटिएको कार्यक्रम भएको र आगामी वर्षहरुमा अझ ऊर्जा र विस्तारसहित निरन्तरता दिने प्रतिवद्धता जनाए।
प्रतियोगिताको नतिजाअनुसार सरस्वती आधारभूत विद्यालय (कैलाश–२) प्रथम, कालिका मावि (कैलाश–९) द्वितीय र कमलादेवी मावि (कैलाश–२) तृतीय भएका छन्। उत्कृष्ट विद्यालयलाई नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ।
शिक्षा तथा खेलकुद विकास शाखाका प्रमुख समीर जोशीका अनुसार आधारभूत (कक्षा १–८) र माध्यमिक तहका विद्यार्थीको प्रतिभा पहिचान, सिकाइ आदानप्रदान र नवप्रवर्तन प्रोत्साहन गर्न प्रदर्शनीको आयोजना गरिएको हो। विद्यार्थीले तयार पारेका सामग्रीको मूल्यांकनका आधारमा उत्कृष्ट तीन विद्यालय छनोट गरिएको उनले बताए।
कार्यक्रममा सहायक विद्यालय निरीक्षक दीपेन्द्र अधिकारी, मूल्यांकनकर्ता सहायक कम्प्युटर अधिकृत लक्ष्मण खतिवडा, इन्जिनियर अनिलप्रसाद जोशी, भवानी माविका प्रधानाध्यापक बालचन्द्र मल्ल ठकुरी, स्रोत शिक्षक ध्रुवराज विष्टलगायतको उपस्थिति थियो।
कार्यक्रम वडा ३ की कार्यवाहक अध्यक्ष राममाया प्रजाको अध्यक्षता सम्पन्न भएको हो।



