सडक डिभिजन हेटौँडाले धराप पारेर छाडेका घरमा सफाईको क्रममा सामान्य स्वास्थ्य सुरक्षालाई ख्याल नगर्दा दुर्घटना हुने क्रम रोकिएको छैन ।
सडक डिभिजन हेटौँडाले डोजर लगाएर धराप बनाएको घरमा हेटौँडा उपमहानगरपालिका १ स्थित एक घरमा सफाई गर्ने क्रममा आइतबार तीन जना निर्माण मजदुर घाइते भएका छन् ।
योसहित एक साताको अवधिमा सडक डिभिजनले सडक चौडा गर्ने क्रममा डोजरले कोपरेर छाडेका घर सफाई गर्दै गर्दा लडेर पाँच जना निर्माण मजदुर घाइते भएका हुन्जिल्ला प्रहरी कार्यालय मकवानपुरले उद्योग वाणिज्य संघ अगाडि हेटौँडा उपमहानगरपालिका १ स्थित एक घर भत्काउने क्रममा आइतबार दिउँसो तीन जना घाईते भएको जनाएको छ ।
घाईतेलाई स्थानीयको सहयोगमा प्रहरीले उद्धार गरी उपचारको लागि अस्पताल पठाएको प्रहरीको भनाई छ ।
घाइते हुनेमा मकवानपुरको मकवानपुरगढी गाउँपालिका १ रानीसेराका वर्ष २२ का सन्तोष भ्लोन, उदयपुर जिल्ला गाईघाट नगरपालिका ९ का वर्ष २६ का दिनेश चौधरी र उदयपुर बेलका नगरपालिका १ पुरन्दाका वर्ष ३० का अरुण चौधरी रहेका छन् ।
सन्तोष र दिनेशको मकवानपुर सहकारी अस्पतालमा तथा अरुणको हेटौँडा अस्पतालमा उपचार भईरहेको छ ।
प्रहरीका अनुसार तीनै जना शरीरको विभिन्न भागमा चोट लागेको र अवस्था मध्यम रहेको छ ।
गत शुक्रबार पनि हेटौँडा उपमहानगरपालिका २ स्थित एक जना निर्माण श्रमिक घरबाट खसेर घाइते भएका थिए । यसअघि बुधबार पनि एक जना निर्माण श्रमिक सडक डिभिजनले धराप छाडेको घर सफाइ गर्ने क्रममा घरबाट झरेर घाइते भएका जिल्ला प्रहरी कार्यालय मकवानपुरले शुक्रबार पनि घर सफाई गर्नेक्रममा घरबाट झरेर एक निर्माण श्रमिक घाइते भएको जनाएको छ ।
पर्सा जिल्ला कालिकामाई गाउँपालिका ९ जानकीटोलका द्वारिका यादव घाइते हुनुभएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजु प्रसाद कुर्मीले १८ वर्षीय घाइते यादवको ढाँडको हड्डी फुस्केको जानकारी दिनुभयो । उहाँका अनुसार घाइते यादवको हेटौँडा अस्पतालमा उपचार भएको छ ।
यस्तै सडक डिभिजन हेटौँडाले धराप पारेर छाडेको घर सफाई गर्ने क्रममा ढलान तल झरेर बुधबार निर्माण श्रमिक जितेन्द्र माझी घाइते हुनुभएको थियो ।
हेटौँडा उपमहानगरपालिकाको राजमार्ग क्षेत्रमा सडक डिभिजन हेटौँडाले सडक चौडा गर्ने क्रममा डोजर चलाएर धराप बनाएका घरटहराका कारण सफाई श्रमिकदेखि पैदलयात्रुसम्मका लागि मुख्य बजार क्षेत्रमा सुरक्षा चुनौती बढेको छ ।
सडक डिभिजन, स्थानीय प्रशासन र हेटौँडा उपमहानगरपालिकाले सुरक्षा संवेदनशीलतालाई बेवास्ता गर्दा श्रमिक घाइते हुने क्रमले निरन्तरता पाएको छ । रौतहट जिल्ला माधवनारायण नगरपालिका ७ लौकाहा घर भई हाल हेटौँडा १० बुद्धचोकमा डेरा गरी बस्ने १९ वर्षीय घाइते माझीको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको छ ।
सडक चौडा गर्ने क्रममा सडक डिभिजन कार्यालयले मकवानपुर उद्योग वाणिज्य संघ अगाडि रहेको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ मा अधकल्चो अवस्थामा छाडेको एक घर सफा गर्दै गर्दा अचानक दुई तला माथिको ढलान तल झरेर घाइते हुनुभएका माझीको हेटौँडास्थित सञ्चो अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।



