मकवानपुरमा आइतबार दुई फरक–फरक स्थानमा भएका घटनामा एक जनाको ज्यान गएको छ भने आगलागीबाट ठूलो धनमालको क्षति भएको छ।
मनहरी गाउँपालिका–६ अन्तर्गत सिस्नेरीपखेरा जंगलमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मंसिर २८ गते दिउँसो करिब २ बजे राक्सिराङ गाउँपालिका–८ राजराङ बस्ने अन्दाजी ४५ वर्षीय गोपाल ब्लोन र मनहरी गाउँपालिका–६ बालुभञ्ज्याङ बस्ने अन्दाजी ५० वर्षीय सेते थिङ सिकारका लागि जंगलतर्फ गएका थिए।
सिकारकै क्रममा अगाडि हिँडिरहेका गोपाल ब्लोन लहरामा अल्झिएर लड्दा उनले बोकेको भरुवा बन्दुक अचानक पड्किन गई पछाडि हिँडिरहेका सेते थिङलाई लाग्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि गोपाल ब्लोनले दिउँसो करिब ४ः४० बजे इलाका प्रहरी कार्यालय मनहरीमा जानकारी गराएका थिए। सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेर मुचुल्का कार्य सम्पन्न गरी थप अनुसन्धान अघि बढाएको छ। घटनास्थल प्रहरी चौकी सुनाचुरीबाट करिब २० किलोमिटर उत्तरतर्फ र इलाका प्रहरी कार्यालय मनहरीबाट करिब ३५ किलोमिटर पश्चिम–उत्तरमा पर्दछ।
यस्तै, बकैया गाउँपालिका–९ कुडुलेमा विद्युत सर्टका कारण घरमा आगलागी हुँदा करिब ५ लाख रुपैयाँ बराबरको क्षति भएको छ। आइतबार अपराह्न करिब ४ः३० बजे प्रकाश थिङको माटो, ढुंगा, काठ र जस्ताले बनेको भुईँतले घरमा कोही नभएको अवस्थामा अचानक आगलागी भएको थियो। आगलागीबाट घरभित्र रहेका भाँडावर्तन, अन्नपात, लत्ताकपडा र फर्निचर पूर्ण रूपमा जलेर नष्ट भएका छन्।
घटनाबारे साँझ करिब ६ः३० बजे प्रहरी चौकी हात्तिसुडेमा सूचना प्राप्त हुनासाथ प्रहरी नायब निरीक्षक कृष्णकुमार लामाको कमाण्डमा टोली घटनास्थलमा खटिएको थियो। आगलागीबाट मानवीय तथा चौपाया क्षति नभएको र आगलागी भएको स्थान प्रहरी चौकी हात्तिसुडेबाट करिब ७ किलोमिटर उत्तरतर्फ पर्ने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।



