हेटौंडा जेसीजको आयोजना तथा हेटौंडा उपमहानगरपालिका–१३ नं. वडा कार्यालय र पदमपोखरी अस्पतालको सह–आयोजनामा पदमपोखरी अस्पताल परिसरमा मंसिर २९ गते सोमबार बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरमा हेटौंडा सामुदायिक आँखा अस्पताल र नेपाल परिवार नियोजन संघले प्राविधिक सहयोग प्रदान गरेका थिए।
शिविरमा सुगर (मधुमेह), रक्तचाप, आँखा तथा महिलाको पाठेघरसम्बन्धी स्वास्थ्य जाँच गरिएको थियो। कार्यक्रम हेटौंडा जेसीज वर्ष २०२५ का कानुनी सल्लाहकार विपिन ताम्राकारको संयोजकत्वमा सम्पन्न भएको हो। कार्यक्रममा हेटौंडा जेसीज वर्ष २०२५ का शाखा अध्यक्ष सिनेटर पंकज दास बानियाँको सभाअध्यक्षता, पदमपोखरी अस्पतालका प्रमुख डा. सवाना खातुनको विशिष्ट आतिथ्यता तथा वडा नं. १३ का वडा अध्यक्ष पेम्बा लामाको प्रमुख आतिथ्यता रहेको थियो।

निःशुल्क स्वास्थ्य शिविरबाट २५२ जना सेवाग्राही लाभान्वित भएका छन्, जसमा १५७ जना महिला र ९५ जना पुरुष रहेका छन्। शिविरअन्तर्गत ८४ जनाको मधुमेह परीक्षण गरिएको थियो भने ९० जना महिलाको पाठेघरसम्बन्धी सामान्य स्वास्थ्य जाँच गरिएकोमा ८५ जनामा विभिन्न रोगका लक्षण देखिएकाले थप उपचार तथा परामर्शका लागि सिफारिस गरिएको कार्यक्रम संयोजक ताम्राकारले जानकारी दिए।
त्यसैगरी, आँखा परीक्षणका क्रममा २६ जनामा मोतियाबिन्दु देखिएको र ५ जना जलविन्दुका बिरामी पहिचान भएका छन्। मोतियाबिन्दुका बिरामीहरूको हेटौंडा सामुदायिक आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने हेटौंडा जेसीजका कार्यकारिणी उपाध्यक्ष सन्तोष पराजुलीले बताए।
कार्यक्रममा हेटौंडा जेसीजका पूर्व अध्यक्षहरू, हेटौंडा सामुदायिक आँखा अस्पतालका प्राविधिक कृष्ण ढुङ्गाना, प्रहरी चौकी पदमपोखरीका प्रमुख दिपु लामा, महेन्द्र बहुमुखी क्याम्पसका प्रधानाध्यापक श्री वागन सिं. थिङ्ग तथा पदमपोखरी अस्पतालका सिनियर अहेव शेरबहादुर व्लोनलगायतको आतिथ्यता रहेको थियो। 
ग्रामीण तथा आर्थिक रूपमा कमजोर नागरिकलाई लक्षित गरी आयोजना गरिएको यस्ता स्वास्थ्य शिविरलाई आगामी दिनमा थप विशेषज्ञ सेवा सहित निरन्तरता दिनुपर्नेमा अतिथिहरूले जोड दिएका छन्। औपचारिक कार्यक्रमको सञ्चालन हेटौंडा जेसीज वर्ष २०२५ का महासचिव जेसी संजय कुमार न्यौपानेले गरेका थिए।



