हेटौंडा जेसीजले सेनेटरी प्याड भेन्डिङ मेसिन जडान गर्दै निःशुल्क प्याड वितरण गरेको छ। जेसीआई हेटौंडाको पहलमा सोमबार हेटौंडा उपमहानगरपालिका–१० स्थित बसपार्क नजिक रहेको सामुदायिक प्रहरी सेवा उपकेन्द्रमा उक्त मेसिन जडान गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि सामुदायिक प्रहरी सेवा उपकेन्द्र हेटौंडाका प्रमुख प्रदीप कडेलले सार्वजनिक स्थानमा यस्ता मेसिन जडान गर्दा किशोरी तथा महिलालाई आवश्यक बेला ठूलो राहत पुग्ने विश्वास व्यक्त गरे।
जेसीआई हेटौंडाका अध्यक्ष पंकजदास बनियाँले महिलाको मासिक धर्मलाई लिएर समाजमा अझै विद्यमान गलत धारणा र समस्यालाई न्यूनीकरण गर्न यो अभियान सुरु गरिएको बताए। उनले स्वच्छता र सम्मानजनक जीवनका लागि सामाजिक विकृतिलाई तोड्नु आजको आवश्यकता रहेको उल्लेख गरे।
कार्यक्रम संयोजक जेसी राहुल दासका अनुसार सार्वजनिक स्थानमा आकस्मिक आवश्यकताका बेला सहज रूपमा सेनेटरी प्याड उपलब्ध गराउने उद्देश्यले मेसिन जडान गरिएको हो। कार्यक्रममा सहभागी अतिथिहरूले यस्ता सामाजिक अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।
मेसिन हस्तान्तरण कार्यक्रममा हेटौंडा जेसीज वर्ष २०२० का शाखा अध्यक्ष राजेन्द्र बानियाँसहित जेसीजका पदाधिकारी तथा सामुदायिक प्रहरी सेवा उपकेन्द्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। 
हेटौंडा उपमहानगरपालिका, सामुदायिक प्रहरी, जेसीआई हेटौंडा तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिको उपस्थितिमा करिब ३० हजार रुपैयाँ बराबरको भेन्डिङ मेसिन तथा सेनेटरी प्याड हस्तान्तरण गरिएको जेसीजका महासचिव सञ्जकुमार न्यौपानेले जानकारी दिए।








