हेटौँडा– बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले आफूले प्राप्त गर्ने सेवा–सुविधाको रकम खर्च गरेर मकवानपुरको कैलाश गाउँपालिका–४ का एक विपन्न चेपाङ दम्पतीको घर निर्माण गरिदिएका छन्।
शनिबार आयोजित कार्यक्रममा मुख्यमन्त्री बानियाँले कैलाश–४ धुसरका लालकुमार चेपाङ र उनकी पत्नी सानुमाया चेपाङलाई नवनिर्मित घर हस्तान्तरण गरेका हुन्। कैलाश गाउँपालिकाले अति विपन्न परिवारका रूपमा पहिचान गरी घर निर्माणका लागि सिफारिस गरेपछि मुख्यमन्त्री बानियाँले केही महिनाअघि आफ्नै सेवा–सुविधाको रकमबाट घर निर्माण सुरु गराएका थिए। 
करिब ८ लाख रुपैयाँको लागतमा तीन कोठा, जस्ताको छाना र शौचालयसहितको घर निर्माण गरिएको नेपाली काँग्रेस कैलाश गाउँपालिका सभापति राजेन्द्र घिसिङले जानकारी दिए। पचास वर्षीय लालकुमार चेपाङ लामो समयदेखि जीर्ण र असुरक्षित घरमा बस्दै आएका थिए भने उनकी पत्नी सानुमाया चेपाङ सानै उमेरमा हात जलेर आंशिक अपाङ्ग छिन्। उनीहरूसँग केही जग्गा भए पनि आर्थिक अभावका कारण सुरक्षित घर निर्माण गर्न असमर्थ थिए।
घर हस्तान्तरणसँगै ओढ्ने, ओच्छ्याउने तथा लत्ताकपडाको व्यवस्था गाउँपालिकाले गरिदिने कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले बताए।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले विपन्न नागरिकका लागि व्यक्तिगत रूपमा सेवा–सुविधाको रकम खर्च गरेर घर निर्माण गरिरहेको र प्रदेश सरकारमार्फत पनि आवास कार्यक्रम सञ्चालनको तयारी भइरहेको जानकारी दिए। प्रदेशभर गरिब, निमुखा, दलित, सिमान्तकृत, एकल महिलालगायत लक्षित वर्गलाई समेटेर एक हजार घर निर्माण गर्ने योजना अनुसार कार्यविधि बनाएर अघि बढ्न लागेको उनले बताए। साथै, घर प्राप्त परिवारलाई आयआर्जनका लागि बिना ब्याज प्रतिपरिवार दुई लाख रुपैयाँ ऋण उपलब्ध गराइने पनि उनले उल्लेख गरे। 
कार्यक्रमकै अवसरमा मुख्यमन्त्री बानियाँले चेपाङ दम्पतीलाई बाख्रापालनमार्फत आयआर्जन गर्न सुझाव दिँदै नगद २० हजार रुपैयाँ सहयोगसमेत प्रदान गरे।
यसअघि मुख्यमन्त्री बानियाँले मकवानपुरको मनहरी गाउँपालिका–९ की मिठुमाया सुनारको ७ लाख रुपैयाँ लागतमा घर निर्माण गरी हस्तान्तरण गरिसकेका छन् भने राक्सिराङ गाउँपालिका–१ का सुमनसिं प्रजाको घर निर्माण कार्य पनि जारी रहेको छ।
घर हस्तान्तरण कार्यक्रममा कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान, नेपाली काँग्रेस मकवानपुरका सभापति बुद्ध लामा लगायतले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए।







