मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ का सांसद तथा महेश कुमार बर्तौला को कार्यशैलीलाई थाहा नगरवासीले जनमुखी नेता रुपचन्द्र बिष्ट ‘रुदाने’को विरासतसँग तुलना गरेका छन्। चुनावी घरदैलो अभियानका क्रममा थाहाका विभिन्न बस्तीमा पुग्दा मतदाताले बर्तौलालाई ‘विकास र निष्ठाको नयाँ आशा’का रूपमा चित्रण गरेका हुन्।
मतदातासँगको संवादमा बर्तौलाले अघिल्लो निर्वाचनमा गरेका प्रतिबद्धताहरू पूरा गरेको दाबी गरे। “संसदमा निष्क्रिय बस्दिनँ, आफ्नो क्षेत्रका मुद्दा सशक्त रूपमा उठाउँछु भनेको थिएँ,” उनले भने, “संसदमा देखाएको सक्रियताले त्यो वाचा पूरा भएको छ।”
उनले आफ्नो कार्यकालको महत्वपूर्ण उपलब्धिका रूपमा चित्लाङ–चन्द्रागिरी–थानकोट सडक स्तरोन्नतिलाई उल्लेख गरे। “यो सडकका लागि स्रोतको अभाव हुन दिँदिनँ भनेको थिएँ,” बर्तौलाले भने, “३२ महिनाको कार्यकालमै करिब ६२ करोड रुपैयाँ बजेट सुनिश्चित गर्न सफल भएको छु, र अहिले काम तीव्र गतिमा भइरहेको छ।” 
विगतमा चुनाव जितेपछि नेताहरू गाउँ नफर्कने गुनासोलाई बर्तौलाले तोडिदिएको स्थानीयको भनाइ छ। २०७९ को निर्वाचनपछि संसद चलेको समयबाहेक उनी अधिकांश समय गाउँमै बसेर जनताका समस्या सुन्ने र समाधानमा जुट्ने गरेको बताइन्छ।
नेकपा एमाले का निर्वाचन फोकल पर्सन आशिष अस्लामीका अनुसार, मतदाताले बर्तौलाको सक्रिय र जनसम्पर्कमुखी शैलीलाई रुदानेको राजनीतिक संस्कारसँग तुलना गरेका छन्। बुधबार थाहा नगरपालिका मा आयोजित घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा बर्तौलाले स्थानीयका गुनासा सुन्ने, सुझाव लिने र अग्रजहरूबाट आशीर्वाद ग्रहण गरेका थिए।
कार्यक्रममा एमालेका स्थानीय तथा केन्द्रीय नेताहरूको उल्लेख्य सहभागिता रहेको थियो। घरदैलोका क्रममा स्थानीयले बर्तौलालाई फूलमाला र खादाले स्वागत गर्दै बाँकी विकास निर्माणका कामलाई पूर्णता दिन आग्रह गरेका छन्।








