गृहमन्त्री ओमप्रकाश अर्याल ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभएको छ।
शनिबार मकवानपुरका विभिन्न मतदान केन्द्रहरूको स्थलगत निरीक्षण तथा अनुगमनका क्रममा गृहमन्त्री अर्यालले निर्वाचनलाई शान्तिपूर्ण र भयरहित रूपमा सम्पन्न गर्न सबै पक्षको सहयोग रहने विश्वास व्यक्त गर्नुभयो। उहाँले निर्वाचन सफल बनाउन आम नागरिकको सक्रिय सहभागिता अत्यन्तै आवश्यक रहेको पनि उल्लेख गर्नुभयो।
सरकारका प्रवक्ता समेत रहनुभएका गृहमन्त्री अर्यालले सामाजिक सञ्जालमार्फत फैलाइने गलत, मिथ्या तथा दुष्प्रचारका सूचनाबाट सचेत रहँदै आ–आफ्नो निर्वाचन क्षेत्रको तयारीमा जुट्न सम्बन्धित सबै पक्षलाई आग्रह गर्नुभयो।
निर्वाचनको तयारी तथा सुरक्षा व्यवस्थापनसम्बन्धी विषयमा गृहमन्त्री अर्यालसँगै गृह सचिव राजकुमार श्रेष्ठ, सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव तथा प्रवक्ता आनन्द काफ्ले, काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल, काठमाडौँ प्रहरी प्रमुख (एसएसपी) रमेश थापा लगायत उच्च पदाधिकारीहरूको सहभागिता रहेको थियो।
मन्त्री अर्यालसहितको टोलीले दक्षिणकाली नगरपालिका–९ फर्पिङ स्थित सेतीदेवी मावि को मतदान केन्द्रको स्थलगत निरीक्षण गरेको हो।
यसैगरी, गृहमन्त्री अर्यालले इन्द्रसरोवर गाउँपालिका–१८ का मतदान केन्द्रहरूको अनुगमन गर्नुभयो। सो अवसरमा मकवानपुर जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारी तथा गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनी को उपस्थितिमा निर्वाचन सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको थियो।
अनुगमनका क्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, जनपथ प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धानका प्रमुखहरूको समेत उपस्थिति रहेको थियो।
त्यसैगरी, मन्त्री अर्यालसहितको टोलीले इन्द्रसरोवरस्थित प्रहरी चौकीको निरीक्षण गर्दै जिल्लाको समग्र सुरक्षा अवस्थाबारे जानकारी लिएको थियो। मकवानपुर जिल्लाका सुरक्षा प्रमुखहरू सम्मिलित संयुक्त टोलीले दुबै जिल्लाका सीमा आसपासका क्षेत्र, मतदान केन्द्र तथा सुरक्षाकर्मी परिचालनको अवस्थाबारे ब्रिफिङ लिँदै आवश्यक निर्देशनसमेत दिएको गृहमन्त्रालयले जनाएको







