आजकल सुन्दा पनि सिरिङ्ग हुने घटनाहरू समाजमा बढ्दै गइरहेका छन्। यस्ता घटनाहरू कहिलेकाहीँ हाम्रो कल्पनाभन्दा धेरै परका लाग्छन्। अझै चिन्ताजनक कुरा के छ भने यस्ता घटनामा कहिलेकाहीँ कलिला बालबालिकाको संलग्नता देखिन थालेको छ। उनीहरूको मनमा के चलिरहेको छ भन्ने कुरा बुझ्न अभिभावक र समाज दुवै असफल जस्तै देखिन्छन्।
म प्रतिक्षा न्यौपाने—पेशाले पत्रकार र दुई सन्तानकी आमा। समाचार संकलनका क्रममा विभिन्न ठाउँ पुग्दा समाजका अनेक पाटा देख्ने मौका मिल्छ। पछिल्ला दिनहरूमा बालबालिकासँग जोडिएका घटनाहरू सुन्दा र देख्दा मन निकै दुख्छ। यस्तो घटना कसैको पनि घरमा, जुनसुकै परिवारमा हुन सक्छ भन्ने महसुस हुन्छ। त्यसैले यस्ता समस्याबाट पन्छिनुभन्दा समाधान खोज्नतर्फ लाग्नु आवश्यक देखिन्छ।
आजका बालबालिका उमेरले भन्दा पनि मोबाइलले छिटो बढिरहेका छन् जस्तो लाग्छ। एउटै कक्षामा पढ्ने बालबालिका पनि सोच र व्यवहारमा १२ कक्षाका विद्यार्थीझैँ देखिन थालेका छन्। यसको कारण उनीहरूको पढाइभन्दा पनि मोबाइलबाट सजिलै हेर्न र सिक्न पाउने सामग्री हो। इन्टरनेट र मोबाइलले उनीहरूलाई धेरै कुरा देखाइदिन्छ, जुन उनीहरूको मानसिक क्षमताभन्दा धेरै अगाडि हुन सक्छ।
हामी अभिभावकहरूले छोरीहरूलाई आत्मरक्षाका तालिम सिकाउँछौँ, ‘ब्याड टच’ के हो भनेर बुझाउँछौँ। तर त्यति नै ध्यान हामीले छोराहरूलाई दिँदैनौँ। ‘यो गर्नु राम्रो हो, यो गर्नु गलत हो’ भन्ने कुरा उनीहरूलाई सिकाउन कहिलेकाहीँ हामी चुकिरहेका हुन्छौँ। यही कारणले पनि समाजमा केही गम्भीर घटनाहरू देखिन थालेका हुन सक्छन्।
अझ चिन्ताको विषय के छ भने यस्ता घटनामा नाबालकहरूको संलग्नता देखिन थालेको छ। यो दुवै पक्षका लागि गम्भीर संकेत हो। यसतर्फ समाज, अभिभावक र सरोकारवाला सबैले ध्यान दिन आवश्यक छ।
नेपालमा अर्को समस्या लागूऔषधको सजिलो पहुँच पनि हो। कतिपय ठाउँमा लागूऔषध सजिलै पाइन्छ। केही घटनाहरू त्यससँग पनि सम्बन्धित हुन सक्छन्, यद्यपि त्यसबारे अन्तिम सत्य प्रहरी र चिकित्सकको अनुसन्धानपछि मात्रै स्पष्ट हुन्छ। तर एउटा कुरा निश्चित छ—अत्यधिक उत्तेजना र नियन्त्रणहीन भावनाले कहिलेकाहीँ गलत दिशामा पुर्याउन सक्छ।
त्यसैले आजका अभिभावकहरूले बाहिरी दुनियाँसँग जति समय बिताउँछन्, त्यति नै समय आफ्ना सन्तानलाई दिन आवश्यक छ। उनीहरूको कुरा सुन्ने, बुझ्ने र सही–गलत छुट्याउन सिकाउने जिम्मेवारी परिवारकै हो।
पैसा कमाउनु महत्त्वपूर्ण हो, तर त्योभन्दा ठूलो कुरा आफ्ना सन्तानमा राम्रो संस्कार दिनु हो। आज धेरै परिवारमा अभिभावकबीचको सम्बन्ध पनि कमजोर हुँदै गएको देखिन्छ। सबैलाई एकैचोटि धेरै कुरा राम्रो बनाउने चाहना हुन्छ, तर त्यसको प्रत्यक्ष वा अप्रत्यक्ष असर कलिला बालबालिकाको मनमा परिरहेको हुन्छ।
दुर्भाग्यवश, धेरै अभिभावकले त्यो असर थाहा पाउँदा ढिला भइसकेको हुन्छ। त्यसैले समयमै सचेत हुनु, सन्तानसँग नजिक हुनु र उनीहरूको मन बुझ्नु आजको सबैभन्दा ठूलो आवश्यकता बनेको छ।








