हेटौँडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत हेटौँडा अस्पतालमा निर्माण गरिएको २०० शय्याको विशिष्टीकृत सेवा भवन बिहीबार उद्घाटन गरिएको छ। भवनको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गरेका हुन्। 
२८ करोड ५४ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको उक्त आधुनिक भवनमा ६ तले एक ब्लक र पाँच–पाँच तले दुई ब्लक रहेका छन्। अस्पतालको सेवा विस्तार र स्वास्थ्य सुविधालाई थप प्रभावकारी बनाउने उद्देश्यले भवन निर्माण गरिएको हो।
यही अवसरमा मुख्यमन्त्री बानियाँले प्रतिष्ठानअन्तर्गत निर्माण हुन लागेको शैक्षिक भवनको पनि शिलान्यास गरेका छन्। बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण हुने उक्त भवन चालू आर्थिक वर्षको असार मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई निकट भविष्यमै विश्वविद्यालयका रूपमा विकास गर्ने तयारी भइरहेको जानकारी दिए। प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीले प्रमाणपत्र लिने बेलासम्ममा यो संस्था ‘मदन भण्डारी स्वास्थ्य विज्ञान विश्वविद्यालय’को रूपमा स्थापित हुने विश्वास उनले व्यक्त गरे।
उनले लोकतन्त्र गरिबको व्यवस्था भएकाले गरिब नागरिकलाई सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए। साथै हेटौँडा अस्पतालमा जनशक्ति र भौतिक पूर्वाधारको अभाव हुन नदिने प्रतिबद्धता पनि व्यक्त गरे।
प्रतिष्ठानमा हाल एमबिबिएस र एमडीसहित विभिन्न विषयमा अध्ययन–अध्यापन सुरु भइसकेको छ। नयाँ शैक्षिक भवन निर्माणसँगै स्वास्थ्य शिक्षा, अनुसन्धान र सेवा विस्तार थप सुदृढ हुने अपेक्षा गरिएको छ।
मुख्यमन्त्री बानियाँले प्रतिष्ठानले हेटौँडा अस्पतालमा मात्र सीमित नभई प्रदेशका १३ वटै जिल्लाका अस्पतालमा विशेषज्ञ सेवा विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए। प्रतिष्ठानबाट उत्पादन हुने स्वास्थ्य जनशक्तिले प्रदेशका विभिन्न जिल्ला तथा पालिकास्तरका अस्पतालमा सेवा प्रवाह गर्न सहयोग पुग्ने उनको विश्वास छ।
स्वास्थ्य सेवा विस्तारको क्रममा हेटौँडा अस्पतालमा डायलाइसिस सेवाको क्षमता पनि बढाइएको छ। यसअघि १४ वटा रहेको डायलाइसिस मेसिनमा थप १६ वटा जडान गरी कुल ३० वटा पुर्याइएको जानकारी उनले दिए।
कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले प्रदेशअन्तर्गतका अस्पताल तथा स्वास्थ्य संस्थामा औषधि र उपकरणको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरे। उनले गरिब परिवारका विद्यार्थीलाई चिकित्सक बन्न प्रोत्साहन गर्न प्रदेश सरकारले छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिरहेको पनि बताए।
त्यसैगरी कार्यक्रममा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल र पूर्वस्वास्थ्यमन्त्री एकालाल श्रेष्ठले अस्पताल भवन निर्माणसँगै स्वास्थ्य सेवा विस्तार र गुणस्तर सुधारमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए।







