राष्ट्रिय युवा संघ नेपाल, बागमती प्रदेशका अध्यक्ष हरि शरण जमकट्टेलले विपत्तिको समयमा राजनीतिक आरोप–प्रत्यारोपभन्दा राष्ट्रिय एकता र मानवीय सहयोगलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।
विपत्तिको समयमा ‘फलानो कहाँ गयो?’, ‘ढिसानो किन आएन?’, ‘कुन पार्टी आयो वा आएन?’ जस्ता विषयमा सामाजिक सञ्जालमा बहस र आरोप–प्रत्यारोप गर्नुको सट्टा आफूले सक्ने ठाउँबाट उद्धार, राहत तथा सहयोगमा जुट्न उनले आग्रह गरेका छन्।
जमकट्टेलले आर्थिक सहयोग गर्न सक्नेले आर्थिक सहयोग, राहत सामग्री जुटाउन सक्नेले सामग्री संकलन तथा वितरण, सूचना प्रवाह गर्न सक्नेले आवश्यक सूचना सम्प्रेषण र फिल्डमा जान सक्नेले उद्धार कार्यमा प्रत्यक्ष सहभागी हुनुपर्ने बताए।
फिल्डमा खटिएका राजनीतिक दल तथा विभिन्न संघसंस्थाका कार्यकर्ताले पनि आफ्नो राजनीतिक पहिचानभन्दा माथि उठेर मानवीय भावनाका साथ काम गर्नुपर्ने उनको भनाइ छ। विपत्तिमा परेका नागरिकको उद्धार र राहतमा राजनीतिक आस्था वा दलगत पहिचानलाई आधार बनाउन नहुने उनले स्पष्ट पारे।
“अहिले हामी सबैको एउटै पार्टी हुनुपर्छ—नेपाल। एउटै प्राथमिकता हुनुपर्छ—नागरिकको जीवन,” जमकट्टेलले भने।
फिल्डमै पुगेर अवस्थालाई नजिकबाट बुझेको दाबी गर्दै उनले सरकारले आफ्नो क्षमता र उपलब्ध स्रोत–साधनले भ्याएसम्म प्रयास गरिरहेको भए पनि उद्धार, राहत तथा समन्वय व्यवस्थापनमा अझै कमजोरी रहेको बताए।
सरकारको प्रयासलाई स्वीकार गर्दै कमजोरी भएका ठाउँमा रचनात्मक रूपमा प्रश्न उठाउनुपर्ने उनको भनाइ छ। तर त्यस्ता प्रश्नको उद्देश्य सरकारलाई कमजोर बनाउने नभई व्यवस्थालाई थप प्रभावकारी बनाउँदै बढीभन्दा बढी नागरिकको ज्यान जोगाउनु हुनुपर्ने उनले बताए।
“यो समय ‘कसले गरेन?’ भनेर औँला ठड्याउनेभन्दा ‘अब के गर्न सकिन्छ?’ भनेर अगाडि बढ्ने समय हो,” जमकट्टेलले भने, “राजनीतिक प्रतिस्पर्धा र बहस भोलि पनि गर्न सकिन्छ। तर आज उद्धारको पर्खाइमा बसेको नागरिकको जीवन भोलिसम्म पर्खिन सक्दैन।”
उनले विपत्तिको सामना गर्न सबै पक्षलाई आ–आफ्नो ठाउँबाट सहयोग र सहकार्य गर्दै मानवताको पक्षमा उभिनसमेत आह्वान गरेका छन्।








