मकवानपुर जिल्ला प्रशासन कार्यालय परिसरमा ‘सुशासन पार्क’ निर्माण गरिएको छ। सेवाग्राहीहरूलाई लक्षित गर्दै बनाइएको उक्त पार्क आज एक कार्यक्रमबीच औपचारिक रूपमा उद्घाटन गरिएको हो।

पहिले जिल्ला प्रशासन कार्यालयभित्र फोटो खिच्न समेत नपाइने स्थान अहिले परिवर्तन भएर सेवाग्राहीका लागि बस्ने विश्रामस्थलसहितको सुशासन पार्कमा परिणत भएको छ। कार्यालयमा सेवा लिन आउने नागरिकहरूलाई सहजता प्रदान गर्ने उद्देश्यले पार्क निर्माण गरिएको जनाइएको छ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको अवधारणा र पहलमा उक्त पार्क निर्माण गरिएको हो। उहाँका अनुसार कार्यालयमा प्रवेश गर्ने बित्तिकै देखिने स्थान पहिले फोहोर र दुर्गन्धित थियो। सोही स्थानमा सेवाग्राहीहरू लामो समय लाइन बस्नुपर्ने अवस्था भएकाले त्यसलाई सुधार गर्दै मौलिकता झल्किने गरी पार्क निर्माण गरिएको हो।
प्रमुख जिल्ला अधिकारी अधिकारीले केही समयपछि यहाँ फ्री वाइफाइ जोन पनि सञ्चालन गर्ने योजना रहेको जानकारी दिनुभयो। साथै मकवानपुर जिल्लाको पहिचान झल्किने विभिन्न चित्रहरू समेत पार्कमा राख्ने तयारी भइरहेको उहाँले बताउनुभयो।
जिल्ला प्रशासन कार्यालय परिसरमा निर्माण गरिएको सुशासन पार्कको ह्यान्डओभर–टेकओभर कार्यक्रम पनि सम्पन्न भएको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत रिद्धि–सिद्धि सिमेन्टले निःशुल्क रूपमा निर्माण गरिदिएको उक्त पार्क आज एक कार्यक्रमबीच जिल्ला प्रशासन कार्यालयलाई हस्तान्तरण गरिएको हो।
कार्यक्रमका अवसरमा मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले रिद्धि–सिद्धि सिमेन्टका जनरल म्यानेजर तथा इन्जिनियरलाई सम्मान गर्दै समाजप्रति कम्पनीले देखाएको सहयोग र योगदानको प्रशंसा गर्नुभयो।
पार्क निर्माणसँगै जिल्ला प्रशासन कार्यालय परिसर थप व्यवस्थित, आकर्षक तथा सेवाग्राहीमैत्री बनेको बताइएको छ। कार्यक्रममा प्रशासनका कर्मचारी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।







