हेटौंडा/पशु सेवा कार्यालय मकवानपुरले चालु आर्थिक वर्ष २०८३/०८४ का लागि ५ करोड १५ लाख २५ हजार रुपैयाँ बराबरको वार्षिक कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ ।
कार्यालयले बिहीबार सरोकारवालाहरूको उपस्थितिमा चालु आर्थिक वर्षमा सञ्चालन हुने कार्यक्रम र स्वीकृत बजेट सार्वजनिक गरेको हो । कार्यालय प्रमुख तथा वरिष्ठ पशु विकास अधिकृत डा. रामप्रकाश प्रधानका अनुसार कुल बजेटमध्ये पूँजीगततर्फ १४ लाख १५ हजार रुपैयाँ र चालुतर्फ ५ करोड १ लाख १० हजार रुपैयाँ विनियोजन गरिएको छ ।
कार्यालयले यस वर्ष पशुपन्छीमा लाग्ने रोग नियन्त्रणसँगै पशुपालन व्यवसाय प्रवद्र्धन र कृषकको जीविकोपार्जनमा सहयोग पुग्ने कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । खोरेत रोगमुक्त क्षेत्र निर्माण, पशुपन्छी खोप, पशुपालनमा असल अभ्यास, ‘एक वडा एक कृषि उत्पादन’ लगायतका कार्यक्रम सञ्चालन गरिने डा. प्रधानले जानकारी दिनुभयो ।
खोरेत रोगमुक्त क्षेत्र कार्यक्रमका लागि मात्रै ८५ लाख ५ हजार रुपैयाँ विनियोजन गरिएको छ । बकैया र बागमती गाउँपालिकामा खोरेत रोगमुक्त क्षेत्रमा राँगापालन प्रवद्र्धन गर्न १५ लाख रुपैयाँ छुट्याइएको छ । पशु पहिचान, खोप तथा त्यससँग सम्बन्धित पारिश्रमिक र लजिस्टिक व्यवस्थापनका लागि समेत बजेटको व्यवस्था गरिएको कार्यालयले जनाएको छ ।
त्यस्तै, पशुपन्छीमा लाग्ने संक्रामक रोग नियन्त्रणका लागि खोप कार्यक्रम सञ्चालन गर्न ८५ लाख रुपैयाँ विनियोजन गरिएको छ । रेबिज नियन्त्रणका लागि २ लाख, इपिडेमिक तथा आकस्मिक रोग नियन्त्रणका लागि ३ लाख र बाँझोपन निवारण घुम्ती शिविरका लागि ३ लाख रुपैयाँ छुट्याइएको छ । विभिन्न दिवसका अवसरमा जनचेतना तथा सेमिनार कार्यक्रमसमेत सञ्चालन गरिनेछ ।
कृषकको उत्पादन तथा पशुपालन व्यवसाय प्रवद्र्धनतर्फ पशुपन्छी तथा मत्स्यजन्य पदार्थको उपभोग प्रवद्र्धन, गाई–भैंसीमा थुनेलो न्यूनीकरणसम्बन्धी घुम्ती शिविर, पशुपालनमा असल अभ्यास र मागमा आधारित जीविकोपार्जन सहयोग कार्यक्रम सञ्चालन गरिने भएको छ । पशुपालनमा असल अभ्यास प्रवद्र्धनका लागि २० लाख र मागमा आधारित जीविकोपार्जन सहयोगका लागि २० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
समुदायमा आधारित ‘एक वडा एक कृषि उत्पादन’ कार्यक्रमलाई समेत निरन्तरता दिइएको छ । दुईवटा कार्यक्रम सञ्चालनका लागि ५० लाख रुपैयाँ बजेट छुट्याइएको छ । यसका अतिरिक्त स्थानीय तहसँग समन्वयात्मक अन्तरक्रिया, वार्षिक योजना तर्जुमा, साइलोपिट निर्माण तथा प्रदर्शनलगायतका कार्यक्रम पनि स्वीकृत भएका छन् ।
पूँजीगततर्फ मोटरसाइकल/स्कुटर खरिद, खानेपानीका लागि वाटर गार्ड तथा प्युरिफायर जडान, कार्यालयको अधुरो कम्पाउण्ड वाल निर्माण तथा अपुरो प्रयोगशाला भवन निर्माण सम्पन्न गर्ने कार्यक्रम रहेका छन् । यी कार्यक्रमका लागि कुल १४ लाख १५ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले पशु स्वास्थ्य सेवा प्रभावकारी बनाउन, रोग नियन्त्रण तथा रोकथामलाई थप व्यवस्थित गर्न र कृषकको उत्पादन तथा आयआर्जन बढाउन कार्यक्रम केन्द्रित हुनुपर्ने धारणा राख्नुभयो ।
बागमती प्रदेशको कृषि मन्त्रालयका महाशाखा प्रमुख शुसील केसीले कृषि क्षेत्रमा तीनै तहका सरकारले नगद अनुदानभन्दा प्राविधिक सहयोगलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा मकवानपुरका स्थानीय तहका पशुपन्छी शाखाका कर्मचारी, कृषक तथा अन्य सरोकारवालाको सहभागिता थियो ।








