मकवानपुरमा वन डढेलो नियन्त्रणका लागि गरिएको पूर्वतयारी, सचेतना र सामुदायिक वन उपभोक्ता समूहहरूको सक्रियताका कारण पछिल्ला वर्षहरूमा वन डढेलोको घटनामा उल्लेखनीय कमी आएको छ।

डिभिजन वन कार्यालय मकवानपुरका अनुसार सन् २०१३ मा १२ हजार २२१ हेक्टर वन क्षेत्रमा डढेलो लागेको थियो। त्यसपछि क्रमशः न्यूनीकरण हुँदै सन् २०२१ मा ६ हजार ९७९ हेक्टरमा झरेको थियो। गत आर्थिक वर्षमा भने जम्मा ५७४ हेक्टर वन क्षेत्रमा मात्रै डढेलो लागेको तथ्यांक कार्यालयले सार्वजनिक गरेको छ।
डिभिजनल वन अधिकृत राकेश प्रसाद चन्द्रवंशीका अनुसार पछिल्लो समय डढेलो लाग्ने मौसम सुरु हुनासाथ पूर्वतयारी, जनचेतना कार्यक्रम र सामुदायिक वन उपभोक्ता समूहहरूको सक्रिय सहभागिताले डढेलो नियन्त्रणमा सकारात्मक प्रभाव परेको छ।
उनका अनुसार विशेषगरी चैत १५ गतेदेखि वैशाख १५ गतेसम्म वन डढेलो लाग्ने सम्भावना बढी रहने गर्दछ। गर्मी बढ्दै जाँदा जोखिम पनि बढ्ने भएकाले डढेलो न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको उनले बताए।
सन् २००० देखि २०२५ सम्मको २५ वर्षको तथ्यांकअनुसार जिल्लाको पूर्वी क्षेत्र बकैया र बागमती गाउँपालिकामा वन डढेलो बढी लाग्ने गरेको देखिएको छ। बकैयाको वडा नम्बर १, २ र ७ तथा बागमतीको वडा नम्बर ३, ४ र ६ मा विगत २५ वर्षदेखि नियमित रूपमा डढेलो लाग्ने गरेको डिभिजन वन कार्यालयले जनाएको छ।
चुरे क्षेत्र, कम बस्ती भएका स्थान तथा मानविय चेतनाको कमीका कारण पनि वन डढेलो लाग्ने गरेको कार्यालयको भनाइ छ।
डढेलो न्यूनीकरणका लागि वन क्षेत्रमा नयाँ अग्नि रेखा निर्माण, पुराना अग्नि रेखाको मर्मत, वन क्षेत्र भएर जाने सडक तथा बाटो सरसफाइ, पत्कर हटाउने लगायतका कार्य भइरहेको डिभिजन वन कार्यालय मकवानपुरका फोकल पर्सन हेमकुमार पाठकले जानकारी दिए।
गत आर्थिक वर्षमा १५६ किलोमिटर अग्नि नियन्त्रण रेखा (फायर लाइन) निर्माण गरिएको थियो। साथै चार महिनाका लागि डढेलो नियन्त्रण दस्तामा दुई सय जनाले रोजगारी समेत पाएका थिए। चालु आर्थिक वर्षमा भने दुई सय किलोमिटरभन्दा बढी अग्नि रेखा निर्माण गर्ने तयारी गरिएको कार्यालयले जनाएको छ।
वन डढेलो नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा स्थानीय तहसँग समन्वय गरी सशक्त प्रतिक्रिया टोली (फायर रेस्पोन्स टिम) गठन गर्ने तयारी भइरहेको डिभिजनल वन अधिकृत चन्द्रवंशीले बताए।
“वन डढेलो नियन्त्रणमा प्रभावकारिता : तीनै तहका सरकार र समुदायको सहभागिता” भन्ने मूल नाराका साथ चैत १ गतेदेखि ७ गतेसम्म वन डढेलो व्यवस्थापन सप्ताह–२०८२ मनाउन सुरु गरिएको छ।
सप्ताहअन्तर्गत मकवानपुरगढी, हर्नामाडी, भिमफेदी, छतिवन, बकैया, फापरवारी, राईगाउँ र हेटौँडामा वन क्षेत्रबाट ज्वलनशील वस्तु हटाउने, अग्नि रेखा निर्माण, सरसफाइ तथा पत्कर पन्छाउने कार्यक्रम सञ्चालन गरिने फोकल पर्सन पाठकले बताए।
डिभिजन वन कार्यालय मकवानपुर अन्तर्गत करिब ७० हजार हेक्टर वन क्षेत्र रहेको छ। यस क्षेत्रमा २११ सामुदायिक वन उपभोक्ता समूह तथा ८ वटा सब–डिभिजन कार्यालय सञ्चालनमा रहेका छन्।







