जनस्वास्थ्य कार्यालय मकवानपुरले चालु आर्थिक वर्ष २०८२/०८३ को फागुन मसान्तसम्मको प्रगति विवरण सार्वजनिक गरेको छ। कार्यालयले पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रम मार्फत जिल्लाको स्वास्थ्य अवस्था र विभिन्न कार्यक्रमहरूको उपलब्धिबारे जानकारी गराएको हो।
कार्यालय प्रमुख किरण श्रेष्ठको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जनस्वास्थ्य अधिकृत लक्ष्मण घिमिरेले आर्थिक वर्ष २०८२/०८३ को प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो।
एचपीभी खोप अभियानमा उल्लेख्य प्रगति
पाठेघरको मुखको क्यान्सर विरुद्ध दिइने एचपीभी खोप कार्यक्रम अन्तर्गत जिल्लाले उच्च सफलता प्राप्त गरेको छ। यस आर्थिक वर्षमा ४ हजार ३ सय १२ जनालाई खोप लगाउने लक्ष्य राखिएकोमा फागुन मसान्तसम्म ९५ प्रतिशत अर्थात् ४ हजार ८६ जना बालिकाले खोप लगाइसकेका छन्।
पालिकागत विवरण अनुसार:
राक्सिराङ गाउँपालिका: १९२ वटा खोपको लक्ष्य शतप्रतिशत पूरा।
मकवानपुरगढी गाउँपालिका: ९९ प्रतिशत प्रगति।
हेटौँडा उपमहानगरपालिका: ९७ प्रतिशत प्रगति।
बागमती र मनहरी गाउँपालिका: ९५ प्रतिशत प्रगति।
थाहा नगरपालिका: ९३ प्रतिशत प्रगति।
बकैया: ९१%, इन्द्रसरोवर: ८९%, भीमफेदी: ८६% र कैलाश गाउँपालिका: ८२ प्रतिशत प्रगति।
सरुवा रोग तथा किटजन्य रोगको अवस्था
राष्ट्रिय क्षयरोग कार्यक्रम अन्तर्गत १३ हजार ७ सय ४६ जनाको स्लाइड जाँच गर्दा २ सय ८७ जनामा सङ्क्रमण पुष्टि भएको छ। त्यस्तै, एड्स तथा यौनरोग नियन्त्रण तर्फ गत आर्थिक वर्ष २०८१/०८२ मा ९ हजार ५ सय ५९ जनाको परीक्षण गर्दा ४० जनामा पोजेटिभ भेटिएको थियो।
अन्य रोगहरूको अवस्था:
डेङ्गु: १८७ जना बिरामी
स्क्रब टाइफस: ४६ जना बिरामी
औलो: गत वर्ष ३ जनामा देखिएकोमा यस वर्ष २ जनामा पोजेटिभ
सामाजिक स्वास्थ्य र सुरक्षाको चुनौती
प्रस्तुत तथ्याङ्कले जिल्लामा आत्महत्या र सडक दुर्घटनाको स्थिति चिन्ताजनक देखाएको छ। चालु आर्थिक वर्षमा ३७ वटा सडक दुर्घटनामा परी १२ जनाले ज्यान गुमाएका छन्। यस्तै, आत्महत्या गर्नेको सङ्ख्या ७९ पुगेको छ, जसमा ३१ महिला र ४८ पुरुष रहेका छन्।
भीमफेदी गाउँपालिकामा गरिएको लागूऔषध सचेतना तथा परीक्षणका क्रममा ११४ जनाको जाँच गर्दा १२ जनामा लागूऔषध सेवनको पुष्टि भएको कार्यालयले जनाएको छ।
विद्यालय नर्स कार्यक्रम
बागमती प्रदेश सरकारको ‘एक विद्यालय एक नर्स’ कार्यक्रमको प्रभावकारिता देखिए पनि जनशक्तिको अभाव अझै खड्किएको छ। मकवानपुरका ८४ वटा माध्यमिक विद्यालयमध्ये हाल ४२ वटा विद्यालयमा मात्र नर्स कार्यरत रहेका छन्।
जनस्वास्थ्य कार्यालय मकवानपुर र स्थानीय तहहरूले स्वास्थ्य सेवालाई पारदर्शी बनाउन कार्यालयले मासिक रूपमा प्रगति प्रतिवेदन प्रकाशन गर्दै आएका छन्।









