हेटौंडा/ हेटौंडा–१० स्थित टीसीएन चौरमा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगितामा श्री केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान बागमती प्रदेश र टिपटक न्यू डाइमण्ड स्पोर्ट्स क्लब काठमाडौंले जित हासिल गरेका छन् भने आयोजक मकवानपुर जिल्ला भलिबल संघ प्रतियोगिताबाट बाहिरिएको छ।
मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा भइरहेको दोस्रो वृहत् खेलकुद, कृषि तथा पर्यटन महोत्सवअन्तर्गत सञ्चालन भइरहेको प्रतियोगिताको दोस्रो दिन बिहीबार सम्पन्न खेलमा केशवलाल स्मृति प्रतिष्ठानले मधेश प्रदेशको जनशक्ति युवा क्लबलाई सोझो सेटमा पराजित गरेको हो। प्रतिष्ठानले पहिलो सेट २५–१३ तथा दोस्रो र तेस्रो सेट समान २५–१० ले जित्दै सहज विजय हासिल गरेको थियो।
त्यसैगरी दोस्रो खेलमा काठमाडौंको टिपटक न्यू डाइमण्ड स्पोर्ट्स क्लबले आयोजक मकवानपुर जिल्ला भलिबल संघलाई ३–० को सोझो सेटमा हरायो। न्यू डाइमण्डले पहिलो र दोस्रो सेट २५–६ तथा तेस्रो सेट २५–११ ले जित्दै एकतर्फी प्रदर्शन गर्यो।
हालसम्म लिग चरणमा केशवलाल स्मृति प्रतिष्ठान र न्यू डाइमण्ड क्लबले एक–एक जित निकालेका छन् भने जनशक्ति युवा क्लबले दुई खेलमध्ये एक जित हात पारेको छ। दुई खेल खेलेको आयोजक मकवानपुर भने दुबै खेलमा पराजित हुँदै सेमीफाइनल पुग्न नपाउँदै प्रतियोगिताबाट बाहिरिएको छ। यसअघि बुधबार भएको खेलमा पनि मकवानपुर पाल्पाको स्टेप भलिबल क्लबसँग पराजित भएको थियो।
शुक्रबार लिग चरणका अन्तिम खेलहरू हुनेछन् भने शनिबारबाट सेमीफाइनल चरण सुरु हुनेछ। पहिलो सेमीफाइनलमा न्यू डाइमण्ड स्पोर्ट्स क्लब र पाल्पाको स्टेप भलिबल क्लबबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो सेमीफाइनलमा केशवलाल स्मृति प्रतिष्ठान र कोशी प्रदेशको ब्राइट फ्युचर स्पोर्ट्स क्लब आमनेसामने हुनेछन्।
प्रतियोगिताको फाइनल खेल आइतबार हुने आयोजकले जनाएको छ। विजेता टोलीले ३ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले २ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन्। सेमीफाइनलमा पराजित हुने दुई टोलीले ५० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विधागत रूपमा ट्रफी, मेडल, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिनेछ।
प्रतियोगितामा देशभरका ६ टोलीको सहभागिता रहेको छ।








