मकवानपुरको कैलाश गाउँपालिका–९ नामटारस्थित करिब चार सय वर्ष पुरानो शक्तिपीठ स्यार्से कालिका मन्दिरमा शुक्रबार विशेष क्षमा याचना पूजनसहित शतचण्डी महायज्ञ आयोजना हुने भएको छ। बिहीबार पूर्वाङ्ग कार्य सम्पन्न भएसँगै शुक्रबार मुख्य महायज्ञ सञ्चालन गर्न लागिएको हो।

स्यार्से कालिका मन्दिर क्षेत्र विकास समितिको आयोजनामा तथा गाउँपालिकाको आर्थिक सहयोगमा कार्यक्रम हुन लागेको हो। आध्यात्मिक गुरु सविन शिवाकोटीका अनुसार दुई दिनसम्म सञ्चालन हुने महायज्ञ अन्तर्गत गङ्गा पूजन, पाठ पारायण, शतचण्डी पाठ, नवग्रह पूजन, लघुरुद्राभिषेक, श्रीसूक्त पाठद्वारा हवन तथा वैदिक–तान्त्रिक विधिबाट हवन लगायतका कार्यक्रम गरिनेछन्।
गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले मन्दिर क्षेत्रको विकासमा स्थानीय र प्रदेश सरकारको लगानी रहेको जानकारी दिए। उनका अनुसार २०५० सालको बाढीले क्षतिग्रस्त बनाएको उक्त शक्तिपीठलाई क्रमिक रूपमा पुनर्निर्माण र व्यवस्थापन गर्दै हाल विभिन्न संरचना निर्माण गरिएको हो।
मन्दिर परिसरको विकासमा गाउँपालिका र प्रदेश सरकारसँगै स्थानीय बासिन्दा तथा विभिन्न परिवार र दाताहरूको सहयोग रहेको अध्यक्ष मुक्तानले बताए। उनले स्थानीय सरकारले सबै धर्मका धार्मिक स्थलहरूको संरक्षण र प्रवर्द्धनमा समान रूपमा ध्यान दिइरहेको पनि उल्लेख गरे।
मन्दिरका पुजारी दानबहादुर ठकुरीका अनुसार तीन खोलाको त्रिवेणीमा अवस्थित यस मन्दिरमा ठकुरी समुदायले परम्परागत रूपमा पूजाआजा गर्दै आएका छन्। कालिका भगवतीका सात दिदीबहिनीमध्ये चार दिदीबहिनी यही क्षेत्रमा रहेको धार्मिक विश्वास समेत रहेको उनले बताए।
श्रीराम नवमीको अवसर पारेर वास्तु पूजा, नवग्रह पूजा, नाग पूजा, क्षेत्रपाल पूजा, लक्ष्मीनारायण पूजा, योगिनी पूजा र नारायणबली पूजा लगायतका धार्मिक कार्यक्रमहरू पनि सञ्चालन गरिने मन्दिर समितिका सचिव मनोज बर्तौलाले जानकारी दिए।








