हेटौंडा । हेटौंडा उपमहानगरपालिका, जसलाई भौगोलिक हिसाबले पनि सुरक्षित र सुन्दरताको हिसाबले पनि उत्कृष्ट मानिँदै आएको छ । उत्तरमा महाभारत र दक्षिणमा चुरे पहाडको काखमा अवस्थित हेटौंडा केवल एउटा सहरमात्र होइन, विकास र सम्भावनाको केन्द्रका रुपमा स्थापित हुँदै गएको छ । राजमार्गहरुको संगमस्थलका रुपमा परिचित हेटौंडा पूर्वपश्चिम राजमार्ग निर्माण हुनुअघि देशको संघीय राजधानी काठमाडौं पुग्ने प्रमुख प्रवेशद्वार थियो ।
हाल त्यही हेटौंडालाई बागमती प्रदेश सरकारले ‘ग्रेटर हेटौंडा’ को अवधारणासहित अझ व्यवस्थित र समृद्ध सहरका रुपमा विकास गर्ने लक्ष्य राखेको छ । आर्थिक वर्ष २०८३÷०८४ को प्रदेश बजेटमार्फत सार्वजनिक गरिएको उक्त अवधारणाले हेटौंडाको भविष्यप्रति थप आशा जगाएको हो ।
पछिल्ला वर्षहरुमा हेटौंडा बसोबास, शिक्षा, रोजगारी, व्यापार तथा स्वास्थ्य सेवाको केन्द्रका रुपमा स्थापित हुँदै गएको छ । विशेषतः शिक्षाक्षेत्रमा देखिएको सुधार र गुणस्तरीय शैक्षिक वातावरणका कारण छिमेकी जिल्लामात्र होइन, अन्य प्रदेशबाट समेत विद्यार्थीहरु हेटौंडा आउने क्रम बढ्दो छ ।
हेटौंडा उपमहानगरपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९÷०८० मा १ हजार २४ परिवार, आव २०८०÷०८१ मा ९ सय ५९ परिवार, आव २०८१÷०८२ मा ८ सय १९ परिवार र चालु आर्थिक वर्ष २०८२÷०८३ को बैशाखसम्म ५ सय ९३ परिवार बसाइँसराइ गरेर हेटौंडा आएका छन् । चार वर्ष अवधिमा कुल ३ हजार ३ सय ९५ परिवार हेटौंडा भित्रिएका छन् ।
आव २०७९÷०८० मा ५ सय ६६ परिवार, आव २०८०÷०८१ मा ५ सय ८६ परिवार, आव २०८१÷०८२ मा ४ सय ८० परिवार र चालु आर्थिक वर्षको बैशाखसम्म ३ सय ५३ परिवार अन्यत्र बसाइँसराइ गरेर गएका छन् । चार वर्षमा १ हजार ९ सय ८५ परिवार बाहिरिए पनि आउनेको संख्या उल्लेख्यरुपमा बढी देखिएको छ ।
उपमहानगरपालिकाका अनुसार पर्सा, रौतहट, सर्लाही र महोत्तरीलगायत तराईका जिल्लाबाट बसाइँसराइ गरी आउनेको संख्या सबभन्दा बढी छ । बसोबासका लागि आउने अधिकांश परिवारले वडा नम्बर–४, ५, ७ र ८ लाई प्राथमिकतामा राख्ने गरेका छन् ।
मौसमको हिसाबले अन्य क्षेत्रको तुलनामा हेटौंडालाई उत्कृष्ट मानिने गरेको छ । जाडो र गर्मी मौसम अन्यत्रको भन्दा सहज हुने भएकाले यहाँ मानिसको आकर्षण बढेको छ । हेटौंडा, तराई र पहाडबीच रहेका कारण मौसम र भूस्थितिका हिसाबले अनुकूल भएकाले बसोबासका उपयुक्त मानिने मकवानपुर क्याम्पसका जनसंख्या प्राध्यापक उमेश अर्यालले बताए ।
बढ्दो जनघनत्वको चापलाई सहज बनाउन नगरको विकास गतिलाई त्यहीअनुसार अघि बढाएको हेटौंडा उपमहानगर प्रमुख मीना लामाले बताइन् । हेटौंडा उपमहानगरपालिकालाई बसाइको गन्तव्य बनाएर आउनेहरुको सेवालाई व्यवस्थापनका लागि योजना बनाएर काम अघि बढाएको उनले बताएकी छन् । पछिल्लो समय शिक्षा, स्वास्थ्य, रोजगारी र व्यवस्थित बसाइलाई आधार बनाएर आउनेको व्यवस्थापनमा काम गरिएको उनको भनाइ छ ।
नगर प्रमुख लामाले भनिन्–हामीले शिक्षा, स्वास्थ्य व्यवस्थापनसहित सुन्दर शहर बनाउन योजनावद्धरुपमा काम गरेका छौं । विद्यालयस्तरमा बढेका विद्यार्थीलाई ध्यान दिँदै विद्यालय भवन, कक्षाकोठाको सुधारसहित गुणस्तरीय शिक्षामा उपमहानगरले लगानी गरेको छ । स्वास्थ्य क्षेत्रलाई ध्यान दिँदै नगरका हरेक वडामा स्वास्थ्य संस्था र दुई वडामा अस्पताल सञ्चालनमा गरेर स्वास्थ्य सेवा सुनिश्चित गरेका छौं ।
व्यवस्थित बसाइका लागि उपमहानगरले बसोबास क्षेत्र व्यवस्थापनका लागि जग्गा वर्गीकरण गरेको छ । उपमहानगरले गरेका वर्गीकरणअनुसार बसोबास क्षेत्र तोकिएको ठाउँमा मात्र घर बनाएर बस्नसक्ने वातावरण बनाइएको छ । हेटौंडालाई सुन्दर र स्वस्थ्य शहर बनाउन उपमहानगरले दैनिकरुपमा काम गरिरहेको छ । कर्मचारी परिचालन गरेर सरसफाइ र स्वस्थ्य वातावरण तयार पार्दै हेटौंडालाई सुन्दर र सफा शहरका रुपमा अघि बढाएको नगर प्रमुख लामाको दाबी छ । उपमहानगरले व्यवस्थित बसाइका लागि पछिल्लो समय नगरभित्र प्लानिङमा पनि सबै खालको सुबिधालाई ध्यान दिएर काम गर्न व्यवसायीहरुलाई नियम बनाएको छ ।
शिक्षामा विशेष प्राथमिकता
हेटौंडा उपमहानगरपालिकाले हेटौंडालाई ‘शैक्षिक हब’ बनाउने लक्ष्यसहित शिक्षाको गुणस्तर सुधारलाई उच्च प्राथमिकतामा राखेको छ । विद्यार्थीहरुले आफूले पढ्न पाउनुपर्ने अधिकारबाट वञ्चित नहुन् र आर्थिक अभावका कारण शिक्षा छाड्नुपर्ने अवस्था नआओस् भन्ने उद्धेश्यले विभिन्न कार्यक्रम सञ्चालन गरिएका छन् । उपमहानगर मेयर लामाका अनुसार शिक्षामा सबै नगरबासीको समान अधिकार भएकाले आर्थिक अभावका कारण कोही पनि शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने लक्ष्यसाथ हरेक वर्ष छात्रवृत्ति वितरण हुँदै आएको छ । नगरका आर्थिक विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई आर्थिक सहयोगसमेत उपलब्ध गराइएको छ ।
शिक्षाको गुणस्तर सुधारका लागि १ सय ४७ वटा आयोजनामार्फत सामुदायिक विद्यालयहरुको भौतिक पूर्वाधार सुधार कार्यक्रम सञ्चालन गरिएका छन् । संस्थागत विद्यालयहरुको वर्गीकरण, शिक्षक बैंकको अवधारणा, आधारभुत तहको स्थानीय पाठ्यक्रम निर्माणलगायत कार्यक्रमलाई पनि प्राथमिकतामा राखिएको छ ।
छात्रवृत्तिबाट लाभान्वित विद्यार्थी
उपमहानगरपालिकाले सञ्चालन गर्दै आएको छात्रवृत्ति कार्यक्रम विद्यार्थीहरुका लागि निकै प्रभावकारी बनेको छ । संस्थागत विद्यालयबाट कानुनबमोजिम वितरण हुने छात्रवृत्तिलाई व्यवस्थित र पारदर्शी बनाइएको छ । विपन्न परिवारका ९९ विद्यार्थीलाई उच्चशिक्षा अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराइएको छ । स्थानीय पाठ्यक्रम ‘हाम्रो हेटांैडा’ सम्बन्धी सिकाइ सहजीकरण सामग्री छपाइ गरी विद्यालयहरुमा वितरण गरिएको छ । सामुदायिक विद्यालयहरुको आर्थिक वर्ष २०८१÷०८२ को लेखापरीक्षण सम्पन्न गरिएको छ भने संस्थागत विद्यालयहरुको नियमित अनुगमनलाई प्रभावकारी बनाइएको छ । विद्यालयसँग सम्बन्धित तथ्यांकहरु इमिस प्रणालीमार्फत व्यवस्थित गरिएको छ ।
नयाँ शैक्षिक कार्यक्रमको विस्तार
हेटौंडालाई विद्यार्थीहरुको गन्तव्य बनाउने उद्धेश्यले नयाँ शैक्षिक कार्यक्रमहरु समेत थपिएका छन् । कानुन संकायअन्तर्गत स्नातक कार्यक्रम सञ्चालनका लागि सिद्धार्थ कलेज र कृषि संकायअन्तर्गत स्नातक कार्यक्रम सञ्चालनका लागि हेटौंडा जनप्रिय क्याम्पससँग सम्झौता गरी अनुदान उपलब्ध गराइएको छ ।
सामुदायिक विद्यालयहरुमा बालविकासदेखि कक्षा–५ सम्मका विद्यार्थीहरुका लागि दिवाखाजा कार्यक्रम सञ्चालन गरिएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को मापदण्डअनुसार प्राविधिक शिक्षा सञ्चालन गर्ने विद्यालयहरुसँग सहकार्य गरिएको छ । हेटौंडा–१८ स्थित विद्यालयलाई बागमती प्रदेश सरकारसँगको सहकार्यमा विद्यालय बस उपलब्ध गराइएको छ । मेकानिकल विषय अध्ययनरत विद्यार्थीहरुलाई स्थापित पेशाकर्मीहरुसँग अन्तत्र्रिmया गराइएको छ ।
छात्रवृत्ति विवाद र वास्तविकता

हेटौंडा उपमहानगरपालिका शिक्षा शाखा अधिकृत रमेश बिडारीका अनुसार अघिल्ला वर्षहरुमा वितरण हुँदै आएका केही छात्रवृत्ति गत भदौ २३÷२४ मा भएको जेन्जी आन्दोलनका कारण प्रभावित भए पनि नगर प्रमुखको तोकआदेशमार्फत करिब २ सय विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिसकिएको छ ।
उनका अनुसार निजी विद्यालय तथा कलेजहरुले कानुनअनुसार उपलब्ध गराउने १० प्रतिशत छात्रवृत्तिलाई व्यवस्थित र पारदर्शी बनाउनमात्र उपमहानगरपालिकाले भूमिका खेलेको हो । छात्रवृत्ति वितरणमा स्थानीय तहका विद्यार्थी, दनुवार, बोटे र प्रजा समुदायलाई प्राथमिकता दिइए पनि अन्तिम नतिजामा मधेश प्रदेशका ९८ विद्यार्थीले समेत छात्रवृत्ति पाएका छन् ।
नुवाकोट र धादिङलगायत अन्य प्रदेश तथा जिल्लाका विद्यार्थीहरु पनि लाभान्वित भएका छन् । बिडारीका अनुसार आन्दोलनको मुख्य कारण मकवानपुरबाहिरका निजी विद्यालयबाट अध्ययन गरेर आएका केही विद्यार्थीहरुले छात्रवृत्ति नपाउनु रहेको हो । अन्य कुनै कारण नभएको उनको दाबी छ ।
शिक्षक बैंकदेखि अटिजम विद्यालयसम्म हेटौंडा उपमहानगरपालिकाले शिक्षामा नवीन अभ्यासहरु समेत सुरु गरेको छ । ‘शिक्षक बैंक’ नामक अवधारणाले विद्यालयमा रिक्त हुने शिक्षकमा छिटो व्यवस्थापन गर्न सहयोग पु¥याएको छ । सुत्केरी बिदामा रहेका शिक्षक महिलाको स्थानमा अस्थायी शिक्षक पठाउने व्यवस्थासमेत गरिएको छ ।
शिक्षा शाखा अधिकृत बिडारीका अनुसार शिक्षक बैंकमार्फत एक हप्ताभित्र विद्यालयले आवश्यक करार शिक्षक पाउनसक्ने व्यवस्था गरिएको छ । यसले विद्यालयलाई विज्ञापन र छनौट प्रक्रियाको झण्झटबाट मुक्त बनाएको छ । अटिजम भएका बालबालिकाका लागि आगामी आर्थिक वर्ष २०८३÷०८४ देखि विशेष विद्यालय सञ्चालनको तयारी भइरहेको छ । इञ्जिनियरिङ र पीसीएल नर्सिङ कार्यक्रम सञ्चालनका लागि पनि प्रक्रिया अगाडि बढाइएको छ ।
हेटौंडाः शिक्षा र अवसरको केन्द्र
एक समय संघीय राजधानी पुग्ने प्रवेशद्वारका रुपमा चिनिएको हेटौंडा हाल शिक्षा, स्वास्थ्य, व्यापार र बसोबासको केन्द्र बन्दै गएको छ । गुणस्तरीय शिक्षा, छात्रवृत्ति, नयाँ शैक्षिक कार्यक्रम, प्राविधिक शिक्षा र समावेशी योजनाका कारण हेटौंडाले आफूलाई बागमती प्रदेशको शैक्षिक हबका रुपमा स्थापित गर्ने दिशामा उल्लेखनीय फड्को मारेको देखिन्छ । यी कारण हेटौंडा केवल बस्ने ठाउँमात्र नभइ भविष्य निर्माण गर्ने गन्तव्य बन्दै गएको छ ।
अन्त्यमा
हेटौंडा उपमहानगरपालिकाअन्तर्गत सबभन्दा बढी विद्यार्थीहरु प्राविधिक तथा व्यावसायिक शिक्षाप्रति आकर्षित देखिन्छन् । विशेषगरी हेटांैडा–१६, हटियास्थित जनप्रिय माध्यमिक विद्यालय प्राविधिक शिक्षाको प्रमुख केन्द्रका रुपमा स्थापित भएको छ । उक्त विद्यालयमा तीन वर्षे बालीविज्ञान, पशुविज्ञान, इलेक्ट्रिकल इञ्जिनियरिङ, प्रिडिप्लोमा कृषि (जेटीए), प्रिडिप्लोमा भेटेरिनरी जेटीए तथा कक्षा–९ देखि १२ सम्म बालीविज्ञान कार्यक्रम सञ्चालन हुँदै आएका छन् । सीपमूलक र रोजगारीमुखी शिक्षाका कारण मकवानपुरसहित छिमेकी जिल्ला र अन्य प्रदेशका विद्यार्थीहरु यहाँ अध्ययनका लागि आकर्षित हुने गरेको पाइएको छ । 








