मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा यात्रुबाहक ईभी गाडी दुर्घटनामा परेको छ।
बिहान ५:४५ बजे काठमाडौंबाट सर्लाहीतर्फ आउँदै गरेको ईभी गाडी सडकबाट करिब ५०० मिटर तल खसेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। गाडीमा चालकसहित १३/१४ जना सवार रहेको बताइएको छ।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ उद्धारका लागि इलाका प्रहरी कार्यालय भीमफेदीबाट ७ जना, जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको कमान्डमा १० जना, बागमती प्रदेश विपद् व्यवस्थापन गुल्म थानाभर्याङबाट १० जना, सशस्त्र प्रहरी बलबाट १० जना तथा नेपाली सेनाको ११ जनाको टोली घटनास्थलमा परिचालन गरिएको छ।
हाल घटनास्थलमा विभिन्न सुरक्षा निकायको टोलीले उद्धार कार्य जारी राखेको छ। दुर्घटनामा परेका यात्रुहरूको अवस्था र क्षतिको विवरण खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।






