मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१ चौकीटोलबाट पेस्तोलसहित दुई जना पक्राउ परेका छन्।
सशस्त्र प्रहरी बल नेपाल नं. १४ गण मकवानपुर र APF नेपालको इन्टेलिजेन्स ब्युरोबाट खटिएको संयुक्त टोलीले आज शनिवार करिब १२:१५ बजे बा.प्र.०३–००१ ह ११८१ नम्बरको अटो चेकजाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
चेकजाँचका क्रममा अटो भाग्न खोजेपछि प्रहरीले एक राउण्ड हवाई फायर गरेको थियो। त्यसपछि अटोमा सवार दुई जनालाई पेस्तोल र गोलीसहित नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका–६ नयाँबस्तीका २७ वर्षीय सुनबहादुर तामाङ र २२ वर्षीय विश्वराज तामाङ रहेका छन्।
उनीहरूको साथबाट ७.६५ एमएम क्यालिबरको एक थान सेमी अटोमेटिक पेस्तोल, सोही पेस्तोलमा लाग्ने एक थान म्यागजिन र पिँदीमा चोट लागेको अवस्थामा एक राउण्ड गोली बरामद गरिएको छ।
पक्राउ परेका दुवै जना र अटोलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सशस्त्र प्रहरी गणमा राखिएको जनाइएको छ।







