मकवानपुरको थाहा नगरपालिका–९, चित्लाङस्थित प्रहरी चेकपोइन्टबाट ६ किलो ४० ग्राम चरेशजस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक गोविन्दप्रसाद भण्डारीको कमाण्डमा खटिएको टोलीले आइतबार राति करिब १:४५ बजे सवारीसाधन चेकजाँच गर्ने क्रममा उक्त पदार्थ बरामद गरेको हो।
गोर्खा, चितवनको सौराहा र हेटौँडा हुँदै काठमाडौँतर्फ जाँदै गरेको बा.प्र.०१–०३५ च ४५६१ नम्बरको सेतो रङको ओमोडा जेइकु ६टी (Omoda Jaecoo 6T) एसयूभी गाडी रोकी जाँच गर्ने क्रममा पछाडिको डिक्कीमा रहेको कालो रङको लगेजभित्र लुकाइराखेको अवस्थामा उक्त पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
लगेजभित्र कपडाले छोपेर सेतो प्लास्टिकमा र्यापिङ गरी पाँचवटा पोकामा राखिएको अवस्थामा फेला परेको पदार्थ प्लास्टिकसहित ६ किलो १४० ग्राम र प्लास्टिक हटाउँदा ६ किलो ४० ग्राम तौल भएको प्रहरीले जनाएको छ।
प्रहरीले गाडीका चालकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–३ स्थायी घर भई हाल बनेपा नगरपालिका–८ बस्ने ३३ वर्षीय हेविन श्रेष्ठ (चालक) र चितवनको भरतपुर महानगरपालिका–११ स्थायी घर भई हाल भरतपुर–२ क्षेत्रपुर बस्ने २१ वर्षीया दिव्याश्री काफ्ले रहेका छन्।
बरामद पदार्थ, गाडी र पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ।






