काठमाडौं -मुख्य सचिव बैकुण्ठ अर्यालले कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयलाई लम्पी स्किन विरुद्धको खोपको व्यवस्थापन गर्न निर्देशन दिनुभएको छ ।
लम्पी स्किनले महामारीको रूप लिँदा पनि सरकारले प्रभावकारी कदम नचालेको भन्दै किसानहरु आक्रोशित भएका छन् । किसानहरुले लम्पी स्किनलाई महामारी घोषणा गरि क्षति भएका पशुहरुको क्षतिपूर्ति दिन माग गर्दै आएका छन् ।
देशभर लम्पी स्किनबाट झण्डै ११ लाख पशु सङ्क्रमित भएकोमा ८ लाख जति निको भएका र २ लाखभन्दा धेरै सङ्क्रमित अवस्थामा रहेका र ५० हजार गाईगोरु, बाच्छाबाच्छी, राँगाभैँसी तथा पाडापाडी मरेको पशुसेवा विभागले जनाएको छ ।
विभागका अनुसार ३ लाख ५० हजारभन्दा धेरै पशुमा लम्पी स्किन रोगविरुद्ध खोप लगाइएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा उहाँले सङ्घीय, पालिका सरकार र निजी क्षेत्रको सहकार्यमा छिटोभन्दा छिटो सेवा दिन सक्ने गरी तीन दिनभित्र कार्ययोजना बनाउन मन्त्रालयलाई निर्देशन दिनुभएको हो ।








