काठमाडौं। काठमाडौंको तीनकुनेस्थित आइएसएमटी कलेजका ब्याचलर्स इन हस्पिटालिटी म्यानेजमेन्ट (बीएचएम)मा अध्ययनरत विद्यार्थीहरुद्वारा आयाेजित ‘आइएसएमटी कार्निभल २०२३’ भब्य रुपमा सम्पन्न भएकाे छ । कलेजका बिजनेश डेभलप्मेन्ट प्रमुख बासुदेव वस्तीका अनुसार सोही कलेजका बीएचएम अध्ययनरत विद्यार्थीहरुले प्रयोगात्मक सिकाई अन्तर्गत कार्निभलको आयोजना गरेका हुन् ।
‘बिएचएमको पाठ्यक्रममै इभेन्ट व्यवस्थापनसम्बन्धी अध्ययन मोड्युल छ। त्यस प्रकारको पाठलाई सैद्धान्तिक मात्र नभई व्यावहारिक रूपमा कार्यान्वयन गर्दै सिके राम्रो हुन्छ। पढाई पनि प्रभावकारी हुन्छ। यिनै कुरालाई ध्यानमा राख्दै यस प्रकारको कार्यक्रम आयोजना गर्छौं,’ उनले भने।
उनका अनुसार पाठ्यक्रममा विभिन्न अध्यायहरू छन् जसलाई व्यावहारिक शिक्षण चाहिन्छ। कलेजले कार्निभल २०२३ जस्ता अन्य कार्यक्रमहरू पनि आयोजना गरिरहेको समेत वस्तीले बताए। इभेन्ट आयोजना गर्दा र स्टल राख्दा विद्यार्थीहरूले समग्र स्रोत व्यवस्थापन, वित्त व्यवस्थापन, मार्केटिङ, समूह व्यवस्थापन लगायत विषयबारे पनि बुझ्ने उनको भनाइ छ।
कार्निभल २०२३ मा करिब एक दर्जन फूड र गेम स्टलहरू थिए। त्यस्तै कार्निभलमा मनोरञ्जनका लागि गीत-संगीत र नाचगान कार्यक्रम पनि थियो। आयोजक विद्यार्थीहरूका अनुसार कलेजले यस प्रकारको कार्यक्रम आयोजना गर्न सहयोग गर्नाले उनीहरूलाई व्यावहारिक सिकाईमा सहजता मिलेको छ। उनीहरूले कार्निभलमा ८ सयदेखि एक हजार आगन्तुकहरू पुग्ने अपेक्षा राखेकोमा सो लक्ष्य पनि पुरा भएको उनीहरूले बताए।
कार्यक्रममा कलेजका शिक्षक-शिक्षिका, विद्यार्थी, उनका अभिभावकहरुकाे बाक्लो सहभागिता रहेको थियो । बीएचएममा अध्ययनरत विद्यार्थीहरुले प्रयोगात्मक सिकाइ अन्तर्गत हरेक वर्ष यस किसिमको कार्यक्रमको आयोजना गर्दै आएका छन् । बीबीए, बीएचएम, बीएससी (अनर्स) साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिकलगायतका शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्दै आएकोमा यस वर्षदेखि एमबीए, एमबीए आइटी पनि थप गरेको कलेजले जनाएको छ ।







