
हेटौंडा/राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशबाट गठबन्धन, एमाले, नेमकिपा, राप्रपाका चारजना उम्मेदवारहरले मनोनयन दर्ता गराएका छन् ।
सोमबार प्रदेशको राजधानी हेटौँडामा रहेको बागमती प्रदेश निर्वाचन कार्यालयमा पुगेर उमेदवारी मनोनयन दर्ता गराएका हुन् ।
सत्ता गठबन्धनबाट नेपाली कांग्रेसले २ र नेकपा माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादीबाट एक एक जनाले मनोनयन दर्ता गरेका छन् ।
कांग्रेसबाट महिला क्लस्टरमा विष्णु कुमारी पुडासैनी र अन्य क्लस्टरबाट जितजंग बस्नेतले मनोनयन दिएका छन् । माओवादी केन्द्रबाट अपाङ्ग क्लस्टरका श्रीकृष्ण अधिकारी र एकीकृत समाजवदिबाट दलित क्लस्टरका घनश्याम रिजाल विश्वकर्माले मनोनयन दर्ता गरेका छन् ।
त्यस्तै,एमालेका तर्फबाट बागमतीमा महिला कोटामा रोचकुमारी चौलागाई, अन्यबाट त्रिलोचन निर्मल पौडेल, अपाङ्गता/अल्पसंख्यकबाट विवेक देवकोटा र दलितबाट ध्रुवराज विश्वकर्माले मनोनयन दर्ता गराएका छन् ।
त्यस्तै, यस नेमकिपाबाट महिलातर्फ कृष्ण लक्ष्मी दुवाल, अपाङ्गतर्फ हिमालयश्वर मुल, अन्यतर्फ श्रीकृष्ण महर्जन र दलिततर्फ सङ्गीता नेपालीले मनोनयन दर्ता गरेका छन् ।
र राप्रपाका तर्फबाट बागमतीमा अन्यमा हेमजंग गुरुङ, महिलामा नानु नगरकोटी, अपाङ्गता/अल्पसंख्यकबाट भरतमणि भट्ट र दलितमा पूर्णबहादुर बिश्वकर्माले मनोनयन दर्ता गरेका छन् ।
राष्ट्रिय सभामा सत्ता साझेदार दलहरूले मिलेर उम्मेदवारी दर्ता गराउदा एमाले भने एक्लै प्रतिस्पर्धामा छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागी बागमती प्रदेशबाट कुल ३४७ जना मतदाताले मतदान गर्ने छन् । जसमा प्रदेश सभाका ११० जना सदस्य र पालिकाका प्रमुख र उपप्रमुख गरी २३७ जना रहेका छन् । प्रदेशसभा सदस्यको मतभार ५३ र पालिका प्रमुख र उपप्रमुखको मतभार १९ रहेको छ । जसअनुसार बागमती प्रदेशमा प्रदेशसभा सदस्यको कुल मतभार ५ हजार ८३० र पालिका प्रमुख र उपप्रमुखको कुल मतभार ४ हजार ५०३ रहने छ ।







